चीनको अनौठो समस्या : किन विवाह गर्न चाहँदैनन् चिनियाँ युवा?

एजेन्सी । चेन हालसम्म आफ्नी आमाले मिलाइदिएको २० भन्दा बढी ‘ब्लाइन्ड डेट’मा सहभागी भइसकेकी छन्।

यीमध्ये केही डेटिङ तुलनात्मक रूपमा एकदमै खराब रहेको उनको अनुभव छ। किनभने उनको एउटा सर्त छ, जुन मान्न उनले भेटेका अधिकांश पुरुषले अस्वीकार गरे।

चेनको त्यो सर्त के हो भने उनी बच्चा पाउन चाहँदिनन्।

चेन आफ्नो अन्तिम नाम मात्र सार्वजनिक गर्न चाहन्छिन्। उनको उमेर करिब २० वर्ष छ। उनी भन्छिन्, ‘बच्चा जन्माउँदा धेरै शिथिल भइन्छ। मलाई बच्चा मन पर्दैन।’

उनी अगाडि भन्छिन्, ‘तर सन्तान नचाहने मानिस भेट्टाउन असम्भव छ। एउटा पुरुषका लागि सन्तान नहुनु… यो उसका लागि आफूलाई मार्नुजस्तै हो।’

चीनमा परिवारको संख्या घट्दै
चीनमा विवाह र जन्मदर घट्दै गएपछि चिनियाँ कम्युनिस्ट पार्टीले लाखौँ महिला तथा पुरुषलाई यो प्रवृत्ति फेर्न प्रोत्साहन गरिरहेको छ।

गत वर्ष चीनको जनसंख्या पछिल्लोे ६० वर्षमा पहिलोपटक घटेको थियो, प्रजननदर निकै तल झरेको छ। सन् १९८६ देखि विवाह दर्ताको संख्या पनि ६.८३ मिलियन मात्रै छ। यो सन् १९८६ यताकै न्यून हो।

अर्थतन्त्रको सुस्त गति र बढ्दो बेरोजगारीबाट निराश चिनियाँ युवा पनि आफ्ना आमाबाबुले गर्ने छनोटको परम्परागत विकल्पबाट विमुख हुँदै छन्। जसका कारण चिनियाँ पार्टीको टाउको दुखाइ बढ्दै गएको छ। राष्ट्रपति सी चिनफिङले जुन राष्ट्रिय कायाकल्पको अपिल गरेका छन्, त्यो धेरै टाढाको विषय बनेको छ।

विवाह बढाउन सरकारको प्रयास
यो चिन्ता राष्ट्रपति सीसम्म पुगेको छ। उनले हालै विवाह गर्ने र सन्तान जन्माउने नयाँ संस्कृतिको विकास गर्नुपर्ने आवश्यकताबारे भाषण दिएका थिए। उनले विवाह, छोराछोरी र परिवारप्रति युवाको दृष्टिकोणलाई आकार दिन बलियो मार्गदर्शनको कुरा पनि गरे।

त्यसो त चिनियाँ अधिकारीहरूले प्रयास नगरेका पनि होइनन्। देशका कर्मचारीहरूलाई युवालाई बिहे गर्न तथा दम्पतीलाई वैवाहिक सम्बन्धमै रहन र बच्चा जन्माउन प्रोत्साहन गर्ने अभियानमा सक्रिय पारिएको छ।

यस वर्षको सुरुमा पूर्वी झेजियाङ प्रान्तको एउटा सानो सहरले दुलहीको उमेर २५ वर्ष वा त्योभन्दा कम भएका दम्पतीलाई १,००० युआन इनाम दिने घोषणा गरेको छ।

तर यसबाट स्थानीय आक्रोशित भएका छन्। उनीहरूको भनाइ छ– यति सानो रकमले यति ठूलो निर्णयलाई प्रभाव पार्नसक्छ भनेर स्थानीय सरकारले कसरी सोच्योे!

अर्कातर्फ अधिकारीहरूले सम्बन्धविच्छेद गर्न चाहने जोडीहरूलाई ३० दिनको ‘कुलिङ अफ पिरियड’ मा जोड दिए। तर यो कदमले व्यक्तिगत छनोटमा असर पार्ने र घरेलु हिंसा भोगिरहेका महिलाहरूलाई हानि पुऱ्‍याउनसक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।

तर यहीबीच ग्रामीण क्षेत्रका अधिकांश अविवाहित पुरुष उपयुक्त बेहुली खोज्न संघर्ष गरिरहेका छन्। त्यहाँका अधिकारीहरूले महिलाहरूलाई दुलही बन्नका लागि उच्च मूल्यको माग नगर्न आदेश दिएका छन्।

विज्ञहरूका अनुसार चीनमा अविवाहित जनसंख्या दुई समूह मिलेर बनेको छ– सहरिया महिला र ग्रामीण पुरुष।

ग्रामीण क्षेत्रका पुरुष दुलहीको उच्च मूल्य र परिवार पाल्न सक्ने सुरक्षित जागिरजस्ता आर्थिक अपेक्षाको सामना गरिरहेका छन्।

यसले ग्रामीण क्षेत्रका महिलालाई शत्तिशाली बनाइरहेको छ र उनीहरूले जीवन साथी छनोट गर्न बढी समय लिइरहेका छन्।

सांघाईमा काम गर्ने २८ वर्षीया क्याथी टियान भन्छिन्, ‘जब म चिनियाँ नयाँ वर्षका लागि घर गएँ, चीनको ग्रामीण भेगमा विवाह बजारमा महिला भएका कारण निकै राम्रो अनुभूति भयो।’

उनका अनुसार उत्तरी आन्हुई प्रान्तमा उनलाई अलि उमेर ढल्केको मानिन्छ, जहाँ महिलाले प्रायः २२ वर्षको उमेरमा विवाह गर्छन्। तर उनको अनुभव यो भन्दा फरक थियो।

उनी भन्छिन्, ‘मैले केही तिर्नु पर्दैन, तर पुरुषले घर, कार, विवाह समारोहका साथै दुलहीको मूल्य पनि दिनुपर्ने हुन्छ। मलाई आफू यो विवाह बजारमा शीर्षमा स्थानमा रहेको जस्तो लाग्यो।’

अर्कातर्फ, सहरी महिला भने विवाहप्रतिको आफ्नो बुझाइ र समाजको दृष्टिकोणमा बढ्दै गएको खाडलले चिन्तामा पार्ने गरेको बताउँछन्।

चेन भन्छिन्, ‘मभित्र कुनै चिन्ता छैन, चिन्ता बाहिरबाट आउँछ।’

उनी भन्छिन्, ‘आफ्ना आमाबाबुको पुस्ताको विपरीत– जतिबेला जीवन एउटा चुनौती थियो र मायाप्रेम विलासिता, तर अब पुरुष र महिलासँग यसका धेरै विकल्प छन्।’

उनी थप्छिन्, ‘हाम्रो विचारमा अब बच्चा नजन्माउनु नै ठीक हो र अब यो त्यस्तो काम रहेन, जसलाई हामीले पूरा गर्नैपर्छ।’

चीनमा जवान आमाहरूबीच यस्तो कथन बनिसकेको छ कि आफ्ना छोराछोरीलाई यसरी पालन–पोषण गर्नुपर्छ, मानौँ जीवनसाथी बितिसके। यसको अर्थ पतिले बाबु हुनुको जिम्मेवारी पूरा गरिरहेका छैनन् अथवा बच्चा हुर्काउन मद्दत गरिरहेका छैनन्।

एक ३३ वर्षीया डेटा वैज्ञानिक नाम नखुलाउने सर्तमा भन्छिन्, ‘मैले चिनेका जति पनि विवाहित पुरुष छन्, उनीहरू सोच्छन् कि परिवारमा उनीहरूको जिम्मेवारी केवल पैसा कमाउनु हो।’

उनी अगाडि भन्छिन्, ‘आमाहरू आफ्ना छोराछोरीसँग धेरै बेर बस्न नपाउँदा आफूलाई दोषी महसुस गर्छन्, उनीहरू यतिसम्म सोच्छ्न कि ढिलासम्म बाहिर बस्नु ठीक होइन। तर तर एउटा बुवाले कहिल्यै यसमा कहिल्यै अपराधबोध गर्दैनन्।’

तर चीनको सत्तारुढ दलले विवाह वा जन्मदर बढाउन असमानता र बदलिँदो अपेक्षा चुनौतीमध्ये एक हो र यसको समाधान गरिनुपर्छ भन्ने कुनै संकेत दिएको छैन।

अर्कातर्फ चिनियाँ युवाहरूले अधिकारीहरूले आफूहरूलाई यति सजिलै आकर्षित गर्न सक्ने छैनन् भन्ने प्रस्ट पारिरहेका छन्।

उनीहरूले सामना गर्ने सामाजिक दबाबको बारेमा सोध्दा उनीहरू प्रायः सांघाईमा कोभिड लकडाउनका क्रममा लोकप्रिय भएको नारा दोहोर्‍याउँछन्।

कठोर प्रतिबन्धहरूविरुद्ध अधिकारीहरूसँग बहस गर्ने एक युवाका शब्द हुन्, ‘हामी अन्तिम पुस्ता हौँ।’ बीबीसीबाट भावानुवाद

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.