काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आज अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो ।
उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका डिएसी थापाले जानकारी दिए ।
घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार जारी छ ।
७ जना गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।