उत्तरी सीमा नाकाबाट बरामद अवैध मदिरा नष्ट

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सिमाना तातोपानी नाकाबाट अवैध रूपमा ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय कोदारी तथा अस्थायी प्रहरी पोष्ट तातोपानीले सवारी जाँच तथा प्रहरी गस्ती गर्ने क्रममा ८ सय ५० बोतल अवैध मदिरा बरामद गरेको थियो।

नाका खुलेसँगै विभिन्न समयमा तातोपानी नाकाबाट लुकाइ छिपाइ ल्याएको अवैध मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

उनले अवैध मदिरा नाकाबाट भित्रिरहेको सूचना पाएपछि प्रहरीले सीमा क्षेत्र र सवारी जाँचमा कडाइ गरेको बताए। ६ लाख रुपैयाँभन्दा बढीको अवैध मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सो मदिरा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला प्रहरी प्रमुख बालनरसिं राणा, भन्सार प्रतिनिधि, स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको जनाएको छ।

२०७२ को भूकम्पपछि सीमा नाका बन्द भएका कारण लामो समय चिनियाँ मदिरा जिल्लामा भित्रिन सकेको थिएन। नाका खुलेसँगै चीनसँगको नाकाबाट लुकाएर मदिरा भित्र्याएको प्रहरीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.