नेपालकाे राजनीतिमा चिनियाँ हस्तक्षेप बढ्दै

काठमाडाैं । पछिल्लाे समय नेपालकाे राजनीतिमा चिनियाँ हस्तक्षेप बढिरहेकाे छ ।

नयाँ सत्ता समीकरण र आसन्न राष्ट्रपति निर्वाचनले राजनीति गर्माएका बेला चीनले नेपालमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा हस्तक्षेप बढाइरहेकाे हाे ।

नेपालकाे राजनीतिमा चिनियाँ हस्तक्षेपकाे नमुना हाे, चिनियाँ राजदूत छन सङ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बराम्बार भेटघाट गर्नु ।

त्यस्तै चिनियाँ राजदूत सङ ओलीसँग राजनीतिक एजेण्डामा छलफल गर्न बेलुका बालकोट पुगेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ओलीलाई भेटेर निस्केलगतै राजदूत सङ दूतावासका दुई अधिकारीसहित ओली निवास पुगेका थिए।

भारतका विदेश सचिव विनयमोहन क्वात्राले दुईदिने औपचारिक भ्रमण सकाएर फर्किएको तीन दिनपछि सत्ता गठबन्धनको मुख्य साझेदार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका थिए ।

ओलीका तर्फबाट एमाले विदेश विभाग सदस्य तथा पूर्वराजदूत अञ्जान शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य उपस्थित थिए । भेटवार्तामा के भयो भन्नेबारे ओली पक्ष कसैले पनि जानकारी दिएको छैन ।

नयाँ जिम्मेवारी सम्हाल्न आएपछि उनले ओलीलाई दोस्रो पटक भेटेका हुन् । यसअघि उनीहरूबीच बालकोटमै माघ ४ मा भेट भएको थियो ।

चिनियाँ दूतावासका एक अधिकारीले राजदूत र एमाले अध्यक्ष ओलीबीच द्विपक्षीय तथा राजनीतिक एजेण्डाका सम्बन्धका विषयमा छलफल भएको दाबी गरे ।

एमाले–माओवादी मिलेर नेकपा बन्दा र त्यसलाई जोगाउने क्रममा पनि चीनले यस्तै सक्रियता देखाएको थियो । त्यसबेला नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपा एकीकरण गर्न र पछि नेकपालाई जोगाइराख्न ‘घरदैलो’ गरेकी थिइन् । चिनियाँ चासोका बाबजुत तत्कालीन नेकपा टिकिरहन सकेन । स्रोतका अनुसार चीन लामो समयदेखि वाम गठबन्धन चाहिरहेको छ । ‘त्यहीअनुसार नेकपा विवाद मिलाउन चीनको भूमिका थियो,’ चीनलाई नजिकबाट बुझेका एक अधिकारीले भने, ‘अहिले वाम गठबन्धनकै सरकार टिकाउन र राष्ट्रपतिको चयन पनि साझेदारीमै हुँदा चीनले राम्रो ठान्छ ।’