‘राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी’

महेन्द्रनगर (धनुषा) – रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशको राजनीतिक समस्या समाधानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले दलीय सिण्डिकेट विरुद्ध एवं परिवर्तनका लागि उम्मेदवारी दर्ता गराएको दाबी गर्नुभयो ।

जनकपुरधाममा आज आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियानको बृहत कार्यकर्ता भेलामा साहले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई त दुवै गठबन्धनले बोलाइरहेको छ । तर पनि म गइन । त्यसको एउटै कारण जनतालाई दलीय सिण्डिकेटबाट मुक्ति दिनु हो ।”

उहाँले जनताका लागि केही गर्न सक्ने संसद् आवश्यक रहेको र त्यस्तो परिवर्तन स्वतन्त्रबाट मात्र हुनसक्ने दाबीसमेत गर्नुभयो । पूर्वमन्त्रीसमेत रहेका साहले स्वतन्त्र उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई अपवित्र गठबन्धन विरुद्धसमेत रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा स्वतन्त्र अभियानका सहयोगी बद्री न्यौपानेले सत्ता र पदलाई कायम राख्नका लागि ठूला दलले अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो । स्वतन्त्र उम्मेदवार श्रीलाल महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार उमेश साह, महोत्तरी ३ (क) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार सुनिल रोहित लगायतले देशमा परिवर्तनका निम्ति स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.