नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको पाइएको छ ।

नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानविन शुरु भएको छ । जेठ २१ गते बुधबार लु २ त ८९८९ र लु३त ३७९५ नंको ट्र्याक्टरमार्फत ढुवानी भएको नदीजन्य पदार्थको जाँच गर्दा उनीहरुले देखाएको बिल नक्कली रहेको आशङ्कामा गाउँपालिकामा उजुरी परेपछि छानविन थालिएको हो ।

बिन्दवासिनी सप्लायर्सको नाममा रहेको उक्त बिलमा ६०१७६४४१७ नंको पान नम्बर पनि उल्लेख छ । कलुवाघाटबाट पाँच हजार ५४८ घनमिटर नदीजन्य पदार्थको निकासी तथा बिक्री वितरण गर्नेगरी बिन्दवासिनी सप्लायर्सले ठेक्का पाएको छ ।

उक्त कम्पनीले निकासा गरेको नदीजन्य पदार्थको बिक्री वितरणमा नक्कली बिल प्रयोग गर्ने गरेको अनुमान गरिएको छ । नदीजन्य पदार्थको बिक्री वितरणमा गाउँपालिकाले प्रमाणित गरेर दिएको भन्दा अलग्गै बिल बिजक प्रयोग गरिएको भेटिएपछि गाउँपालिकाले बिहीबार बिहानै कार्यपालिकाको बैठक राखी छानविन समिति गठन गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणि मरासिनीले भने, “उक्त बिल नक्कली हो । तर, कसले छाप्यो भन्ने पत्ता लागेको छैन । बिल सम्बन्धमा छानविन गर्न समिति गठन गरी नदीजन्य पदार्थको विषयमा प्रभावकारी अनुगमन गर्न उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति गठन गरेका छौंँ ।”

नक्कली बिल प्रयोग गरी नदीजन्य पदार्थ बिक्री वितरण गरेको भन्ने सूचना आएपछि बिहीबार नै जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मासहितको टोलीले पनि शुद्धोधनको विभिन्न नदीजन्य पदार्थ निकासी गरिरहेको घाटको अनुगमन गरेको छ । अनुगमनपश्चात् जिसस प्रमुख विश्वकर्माले भने, “बिल सम्बन्धमा यसै भन्न सकिन्न त्यो छानविनपछि थाहा हुन्छ ।”

नदीजन्य पदार्थको व्यापक चोरी निकासी भएको भन्दै स्थानीयवासीले जनगुनासो गरेपछि आफूहरुले पनि बिहीबार अनुगमन गरेको गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताए । शुद्धोधन गाउँपालिकाले चालू वर्षमा रु तीन करोड ६५ लाख रकमबराबरको ६ वटा घाटको ठेक्का आह्वान गरी काम पनि अगाडि बढाएको थियो । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.