कोरिया उड्नै लागेका ८३ युवा ठग्ने ‘दलाल’ श्रममन्त्रीकाे फन्दामा

काठमाडाैं : कोरिया उड्नै लागेका ८३ युवा ठग्ने ‘दलाल’ श्रममन्त्रीकाे फन्दामा परेका छन् ।

कोरिया उड्न लागेका ती नेपाली श्रमिकलाई ‘होटल प्याकेज’को नाममा रकम असुल्ने होटलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्टिङ अपरेसन गर्ने क्रममा दलाल अजय सोडारी फन्दामा परेका हुन् ।

उनले बाल्टिक होटलमा कोरिया उड्न लागेका ८३ जना नेपाली नागरिक बसेको र उनीहरूलाई होटल प्याकेजको नाममा बढी दिनको भाडा असुल्न लागेको सूचनाका आधारमा स्टिङ अप्रेसन गरेका हुन् ।

भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अवैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन्।

मंगलबार राति मन्त्रीको मोबाइलमा आएको सूचनाका आधारमा उनी सुरक्षाकर्मी, श्रम विभागका अधिकारीसहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुगेका थिए।

बुधवार साँझ कोरिया उड्न लागेका ती युवाहरुलाई अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जबर्जस्ती राखिएको थियो।

पीडित युवाहरुले आफूहरुलाई एजेन्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसँग गरेका थिए। पीडितहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारबाही गर्न निर्देशन पनि दिए।

मन्त्री श्रेष्ठले भने, ‘म पैसा कमाउन मन्त्री भएको मान्छे होइन, केही गर्न मन्त्री भएको मान्छे। जो–जोसँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस्। अब तपाईँलाई मर्का पर्‍यो होला, कसले एग्रिमेन्ट गर्‍यो ऊ सँग माग्नुस्। यो भाइबहिनीहरुसँग माग्ने होइन।’

वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानबिन हुने र भविष्यमा यस्ता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आवश्वासन दिए।

सोडारीलाई गौशाला प्रहरीले पक्राउ गरेको छ । यसअघि कोरिया रोजगारी खुलाउनुपर्छ भन्दै अभियान चलाउने संघर्ष समितिमा समेत सोडारी थिए । उनले नै ८३ जनालाई होटलमा बढी रकम असुलेको मन्त्री श्रेष्ठको भनाइ छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.