काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पदबाट राजीनामा दिने निष्कर्शमा पुगेको बताइएको छ ।
प्रधानन्यायाधीश राणाले मंगलबार राष्ट्रपतिलाई राजीनामा बुझाउने तयारी गरेको निकट स्रोतले बताएको छ तर औपचारिक पुष्टि हुन बाँकी छ ।
प्रधानन्यायाधीश राणानिकट स्रोतले भन्यो, ‘न्यायालयमाथि जसरी आक्रमण सुरु भएको छ, यसको निकासका लागि सम्माननीयज्यू राजीनामा दिने निष्कर्शमा हुनुहुन्छ। भोलि राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउनुहुन्छ ।’
प्रधानन्यायाधीशको भूमिकाले न्यायालय गम्भीर संकटमा पुगेको भन्दै पूर्वप्रधानन्यायाधीशहरु र नेपाल बार एशोसियसनले राजीनामाको सुझाव दिएका छन् ।
सर्वाेच्च अदालतकै न्यायाधीशहरुले पनि सोमबार इजलास बहिस्कार गरे ।
सोमबार दिउँसो चार पूर्वप्रधानन्यायाधीशहरुले एक विज्ञप्ति जारी गर्दै राणालाई राजीनामा दिन सुझाएका छन् । प्रधानन्यायाधीशले राजीनामा नगरे महाअभियोग समेत लाग्न सक्ने चेतावनी उनीहरुले दिएका छन् । न्यायपालिकाले आफ्नो समस्या आफैं समाधान नगरे विधायिकी हस्तक्षेप हुन सक्ने पूर्व न्यायाधीशहरुको चेतावनी छ ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार साँझ विज्ञप्ति नै निकालेर प्रधानन्यायाधीश जबरालाई न्यायपालिकाको गरिमा बचाइराख्न बहिर्गमनको बाटो समात्न आग्रह गरेका हुन् ।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो ।
सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।
प्रधानन्यायाधीश राणाले गठबन्धन सरकारमा भागबण्डा खोजेको आरोप लागेको छ। त्यस्तै उनले केहि दिन अघि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
राणा र प्रचण्डबीच प्रधानन्यायाधीशको निवासमा भेटवार्ता भएको सार्वजनिक भएको थियो । न्यायालयलाई देखाएर सत्तासँग भागवण्डा खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणाको आलोचना भइरहेको छ ।












Facebook Comments