काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।
निजी निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले बताए ।
सिटौला निकट स्रोतका अनुसार सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने चाहाना राखेपनि सिटौलाको रोजाइमा चौधरी परेका हुन् ।
मंगलबार सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालय भागबण्डामा मोटामोटी सहमति जुटेपछि सिटौलाले पनि आफ्नो समूहबाट मन्त्री हुने नेताको टुंगो लगाएका हुन् ।
सोही क्रममा अब कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले पाँच/पाँच मन्त्रालय पाउने छन् । कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र, सञ्चार, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ ।
माओवादी केन्द्रको भागमा अर्थ, ऊर्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय परेको छ । माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ।
एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय तथा जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति जुटेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले बतायो । बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ।