उपेन्द्र यादव समूहले मधेस र मधेसी जनताप्रति अक्षम्य अपराध गर्‍या : महतो

राजविराज । निर्वाचन आयोगबाट आधिकारिकता गुमाएका जसपा महन्थ ठाकुर समूहका नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसी एकतामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महतोले उपेन्द्र यादव समूहले मधेस र मधेसी जनताप्रति अक्षम्य अपराध गरेको पनि बताए ।

मधेसको शक्तिलाई एकीकृत गर्ने प्रयासस्वरुप तत्कालीन संघीय समाजवादी पार्टीसित बिनागृहकार्य एकता गरेको स्मरण गर्दै महतोले भने,‘तर उपेन्द्र यादवहरुको समूह मधेस कमजोर गर्ने कार्य गरे जुन क्षमायोग्य छैन ।’

केपी ओली नेतृत्वको सरकारमा १८ महिना रहेर उपेन्द्र यादवले गर्न नसकेको कार्य आफूहरुले १८ दिनमा गरेको दाबी गर्दै महतोले भने,‘१ सय ३९ जनाको मुद्दा फिर्ता, नागरिकता अध्यादेश र संविधान संशोधनका लागि कार्यदल गठन लगायतका कार्य हामीले सरकारमा सामेल हुनुभन्दा पूर्व नै गर्‍यौ ,उपेन्द्र जस्तो अलिखित सम्झौता गरेर सरकारमा गएनौं ।’

मधेसलाई कमजोर गर्ने षड्यन्त्रअन्तर्गत यादवको मागबमोजिम निर्वाचन आयोगले जसपा फुटाएको दाबी गरे । उनले भने,‘पार्टीभित्र मत भिन्नता हुन्छन् तर मधेसी जनताको एकताको भावनालाई कुठाराघात गर्दै उपेन्द्र यादव पार्टी विखण्डन गर्न निवेदन लिएर दुगुर्दै निर्वाचन आयोग गए, निर्वाचन आयोगले उसको मागबमोजिम पार्टी फुटाइदियो।’

महतोले निर्वाचन आयोगले जसपाको सन्दर्भमा गरेको फैसला उचित नभएकोले त्यसविरुद्ध सर्वोच्च अदालतमा न्यायका लागि गएको बताउँदै सर्वोच्च अदालतले दुई हप्ताभित्र गर्ने निर्णयका आधारमा नयाँ पार्टी खोल्ने वा के गर्ने भन्ने सन्दर्भमा विचार गर्ने बताए ।

नेता केशव झाले तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकता भए पनि समायोजन प्रक्रिया हुन नदिई उपेन्द्र यादव समूहले सुरुदेखि नै पार्टी कमजोर बनाउने खेल खेलेको आरोप लगाए ।

Facebook Comments