कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : विश्व स्वास्थ्य सङ्गठन

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (ब्ल्यूएचओ)ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको जनाएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप कार्यक्रम नै प्रभावित भएकोमा चिन्ता व्यक्त गरेको छ। विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोरोनाविरुद्धको खोप प्राप्त गरिरहेका ठूलो संख्याका गरिब देशहरू यसबाट प्रभावित भएका छन्।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा। ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रममार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए। उनले विश्वभरका गरिब देशलाई सो मात्रा अपर्याप्त रहेको उल्लेख गरे।

डब्ल्यूएचओले जेनेभामा गरेको कार्यक्रममा एलवर्डले खोपको अभाव गम्भीर रहेको बताए। उनले कोभ्याक्समा ८० वटा न्यून आय भएका देशहरू आबद्ध रहेको जानकारी दिँदै कम्तीमा आधा देशहरू आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने अवस्थामा नरहेको बताए। कतिपय देशहरूले अभावसँग जुझ्न बजार मूल्यभन्दा बढीमा खोप खरिदका कठिन विकल्प रोजिरहेको उनले खुलाए।

गत सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका थिए। यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले ५ करोड ५० लाख खोप वितरणको योजना घोषणा गरेको छ। त्यसमध्ये ४ करोड १० लाख कोभ्याक्स अभियानमार्फत बाँडिनेछ भने बाँकी १ करोड १० लाख सिधै प्राथमिकतामा रहेका देशहरूलाई दिइने अमेरिकाले बताएको छ।

अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्नेसहितको प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पुर्‍याउन कोभ्याक्स अभियान थालिएको थियो। डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र २ अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.