डडेल्धुरामा मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि

धनगढी । डडेल्धुरामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या गरिएको पुष्टि भएको छ । शव परीक्षणबाट परशुराम नगरपालिका-८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

जोगबुढा अस्पतालका चिकित्सकले शव परीक्षण रिपोर्ट प्रहरीलाई बुझाइ नसकेको भए पनि अस्मिताको हत्या भएको पुष्टि गर्दै उनको बलात्कारपछि हत्या गरिएको हो कि होइन भन्ने कुरा प्रष्ट पार्न डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए । सोहीअनुसार प्रहरीले चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको हो ।

असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामी शनिबार स्थानीय हटवानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । मृतकका श्रीमान र दुई छोरी छन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, इलाका प्रहरी कार्यालय जोगबुढाका अतिरिक्त प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धनगढीबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.