सरकारमा सहभागी जसपाका ९ मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने भएको छ छ। शनिबार बसेको पदाधिकारी बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले महन्थ-राजेन्द्र पक्षका चार जनालाई स्पष्टीकरण सोधेको थियो। उनीहरुले जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय उपेन्द्र-बाबुराम पक्षले गरेको थियो।

स्पष्टीकरण सोधिनेमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका शरतसिंह भण्डारी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिलकुमार झा, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी , श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिमलप्रसाद श्रीवास्तव, उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालवालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ छन्।

यसअघि नै पार्टीले ओली सरकारका पक्षमा उभिनेहरुलाई निष्कासन गर्ने निर्णय गरिसकेको भए पनि ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरणको मौका दिन लागिएको एक नेताले बताए। उनले भने, आइतबार सबैलाई स्पष्टीकरण पत्र पठाउँछौं।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.