काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन्।
आज राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए ।
‘महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ’, प्रधानमन्त्री ओलीले भने, ‘सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।’
ओलीले नागरिककै जीवन रक्षाका लागि रु ३००/४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई ५० हजार तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको दावी गरे।
प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिए ।
