प्रतिगामी प्रवृत्तिका विरुद्ध बुद्धले झैँ विद्रोह गरौँ : प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी नै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताएका छन् ।

आज २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न आह्वान गरेका छन् ।

बृहद् जनसमुदायको भावना र आकाङ्क्षा विपरीत सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औँ शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने भन्दै उनले द्वन्द्व र अहंकारले मानिसमा विनाश निम्त्याउने बताएका छन् ।

गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीहरुका लागि गर्वको विषय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्व शान्ति र मानव कल्याणका निम्ति बुद्धका उपदेश आज पनि उत्तिकै शाश्वत रहेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आजकै दिन परेको किराँत राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। कोरोना भाइरसको महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न पनि प्रचण्डले आग्रह गरेका छन्।

Facebook Comments