काठमाडौं । सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २८ सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् ।
राजीनामा दिनको लागि अहिले खनाल नेपाल पक्षको गोप्य स्थानमा बैठक बसिरहेको छ। माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ ।
कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।
‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो’, खनाल–नेपाल पक्षका एक नेताले भने, ‘समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’
गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । यो समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा बैशाख ३० गते राति ९ बजे सकिँदैछ ।
बैशाख २७ गतेकै संसद बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको विकल्पमा नयाँ सरकार गठन गर्ने प्रस्ताव गरेका थिए भने देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन जनाएका थिए । तर, ओलीको विकल्पमा नयाँ सरकार बनाउन संसदमा काँग्रेस, माओवादी र जनता समाजवादीको बाबुराम–उपेन्द्र पक्षमात्रै बाट सम्भव नभएपछि खनाल नेपाल समूह उक्त निष्कर्षमा पुगेको हो ।
बुधबार बसेको माधव–झलनाथ पक्षको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन केपी ओली लागिरहेको ठहर गर्दै ओलीको विस्थापनका लागि निकास दिन जरुरी रहेकाले कठोर निर्णय गर्न बाध्य भएको एक स्थायी समिति सदस्यले बताए ।