पुनर्निर्माण कार्य ‘सन्तोषजनक’

काठमाडौं । विनाशकारी भूकम्पको ६ वर्ष पूरा भएको छ। यो अवधिमा पुनर्निर्माण तथा पुनःस्थापना कार्य सम्पन्न नभए पनि ‘सन्तोषजनक उपलब्धि’ हासिल भएको सरकारी पक्षको दाबी छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार निजी आवास पुनर्निर्माण ९३ प्रतिशत सम्पन्न भएको छ। अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण गरेकाको संख्या ७ लाख ५३ हजार १ सय ४ पुगेको छ।

पहिलो किस्ता वितरण ९९.८६, दोस्रो किस्ता ८६.७८ र तेस्रो किस्ता ७८.६६ प्रतिशत पुगेको छ। चालू आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बताए। प्राधिकरणका अनुसार निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासा सम्बोधन गरिएका छन्।

प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेका लागि जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ। यसबाहेक जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनर्निर्माणमा प्राधिकरणले ९ सय घुम्ती डकर्मी र २ सय ५४ सामाजिक परिचालक परिचालन गरी विशेष अभियान अघि बढाएको छ। साथै साझेदार संस्थाहरूलाई पनि यस कार्यमा परिचालन गरिएको छ।

भूकम्पपछि २ सय ९९ असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ। १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ। ६४ एकीकृत बस्ती निर्माण गर्नुपर्नेमा २० वटा सम्पन्न भएका छन् भने ४४ वटा निर्माणाधीन छन्। तत्काल सुधार एवं संरक्षण गर्नुपर्ने ३३ बस्तीमध्ये २७ वटा सुधार एवं संरक्षण गरिएको छ। ६ वटाको सुधार तथा संरक्षण भइरहेको छ। -अन्नपूर्ण पोस्ट् दैनिकबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.