रेशम चाैधरीलाई भेटेर महेश बस्नेतले भने- रिहाईका लागि सरकार सकारात्मक छ

काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चाैधरीलाई भेटेका छन्। चाैधरीलाई भेटेर उनले मुद्दा सहजीकरणका लागि सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार चाैधरीलाई भेट्न पुगेका बस्नेतले बिहीबारको मन्त्रिपरिषद् बैठकले मुद्दालाई सहजीकरण गरेर अगाडि बढाउने प्रक्रिया थालनी गरेको बताए। गृह मन्त्रालय र सरकारी वकिलसँग आवश्यक परामर्श गरेर अघि बढ्न लागिएको उनले बताए।

‘एमाले र सजपाबीच भएको वार्ता सहमति नजिक पुगेकाले रेशमजी लगायतको मुद्दा टुंग्याउन सरकारले सकारात्मक पहल लिएको सन्देश दिन पुगेको हुँ’, बस्नेतले भने। एमाले र जसपाबीच सत्ता समीकरणका लागि छलफल चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने नेता बस्नेतले चौधरीसँग भेटघाट गरेका हुन्।

बस्नेतअघि जसपा नेता राजेन्द्र महतो र सरकारका एक मन्त्रीले समेत चौधरीलाई भेटेको बताइएको छ। सत्ता समीकरणका लागि जसपाले चौधरीको रिहाइलाई पनि मुद्दा बनाएको छ।बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थारु कल्याणकारी सभाले चौधरीको रिहाइका लागि गरेको आन्दोलनमा सहभागी भएका थिए।

२०७२ साल भदौमा भएको टीकापुरको हत्याकाण्डमा मुछिएका चौधरीलाई कैलाली जिल्ला अदालतले दोषी ठहर गर्दै आजीवन कारावासको फैसला गरेको थियो। उच्च अदालतले समेत जिल्लाकै फैसला सदर गरेको छ। मुद्दा अहिले सर्वाेच्च अदालतमा विचाराधीन छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.