काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको थियो ।
दुबै सदनमा गरी नेकपाका २२१ सांसद छन्, जसमध्ये १११ जना प्रचण्ड–माधव समूहले बोलाएको बैठकमा उपस्थित थिए । योगेश भट्टराईसहित ७ सांसद विभिन्न कारणले शुक्रबारको बैठकमा आउन नपाएको नेताहरुको दाबी छ ।
संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओलीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने भन्दै उनले अघि भने, ‘नदिए संविधान कानूनअनुसार संसदाबाटै समाधान खोज्छौं ।’ त्यो भनेको अविश्वास प्रस्ताव ल्याउने हो भन्ने प्रश्नमा प्रचण्डले थप्दै भने, ‘अब त्यही बाटो जान उहाँले बाध्य पार्नुभएको छ । हामी त्यही बाटोमा जान्छौं ।’












Facebook Comments