काठमाडाैँ । महाव्याधी कोभिड-१९ विरुद्धको खोपले मानव समुदायमा फेरि हर्षको सञ्चार गरेको छ । तर, महाव्याधि विरूद्धको खोपमा पनि संसारभर राजनीतिक, कूटनीतिक र व्यासायिक रणनीतिको छाया परेको देखिएको छ ।
नेपालमा अहिलेसम्म भारतले अनुदानमा दिएको १० लाख मात्रा खोप आइपुगेको छ । चीन सरकारले पनि चीनमा बनेको ५ लाख मात्रा खोप अनुदानमा दिने भएको छ । भारतबाट प्राप्त खोप अहिले प्राथमिकताका आधारमा देशभर नै दिन सुरु भइसकेको छ ।
यसैबीच चीनले दिने भनेको खोप लिन नेपालले आनाकानी गरेको र चीनले पनि नेपालले मागेको प्राविधिक विवरण दिन आलटाल गरेको समाचार विभिन्न सञ्चार माध्यममा आएको छ । तर, नेपाल वा चीन सरकारले भने यस विषयमा खुलस्त जानकारी दिएका छैनन् । यसले चीनले दिने खोप र समग्रमा जनमानसमा खोपकै विषयमा भ्रम उत्पन्न हुनसक्छ ।
चीनले खोप उपलब्ध गराउने भने पनि विश्वका विभिन्न मुलुकहरुबाट चिनियाँ खोपप्रति आशंका उत्पन्न भइरहेको छ । चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको सिनोभ्याक खोपको ब्राजिलमा गरिएको तेस्रो चरणको परीक्षणमा क्रममा ५०.४ प्रतिशतमात्रै प्रभावकारी देखिएपछि आशंका उत्पन्न भएको हो ।
अक्सफोर्डले विकास गरेको खोप ७० प्रतिशत र फाइजर र मोर्डेनाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएको अवस्थामा चिनियाँ खोप ५० प्रतिशत मात्र प्रभावकारी भएको भन्दै पश्चिमा मुलुकहरुले प्रश्न उठाइरहेका छन् ।
त्यस्तै केही साताअघि सिनोभ्याक लगाएका बिरामीमा प्रतिकूल प्रभाव परेपछि ब्राजिलले तत्काल परीक्षण रोक्ने गरी प्रतिबन्ध लगाएको थियो । उक्त भ्याक्सिन लगाएका एक भोलेन्टियरको मृत्यु भएको समाचार आएको थियो । त्यसयता भ्याक्सिनले विभिन्न किसिमको गम्भीर समस्या देखाएको आरोप लाग्दै आएको थियो । यसकारण दुई स्वास्थ्यसम्बन्धी निकाय अन्भिसाले तत्काल परीक्षण रोक्न निर्देशन दिएको थियो।
यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले भ्याक्सिनमाथिको प्रतिबन्धलाई जितको संज्ञा दिएका थिए । उनले धेरैपटक सिनोभ्याकको आलोचना मात्र गरेनन्, यसलाई पूर्णतः चिनियाँ भ्याक्सिनको नाम दिएका थिए । राष्ट्रपति बोल्सोनारोले चिनियाँ भ्याक्सिन सर्वसाधारणलाई नकिन्न पनि आग्रह गर्दै आइरहेका छन् । सिनोभ्याक परीक्षण सम्बन्धमा साओपालोका गभर्नर जाओ डारियासँग राष्ट्रपतिको विवाद पनि परेको थियो ।
जनस्वास्थ्यको विषय हुनाले यसमा हेलचेक्य्राइँ गर्नु पनि अपराधै हुन्छ । कुनै कूटनीतिक दबाब वा व्यावसायिक लोभमा नपरीकन परीक्षणका सबै मापदण्ड पूरा गरेको खोपमात्र ल्याइयोस् । साथै, प्राविधिक विवरणविनै चिनियाँ खोप प्रयोग गर्न दबाब दिइएको समाचारका सम्बन्धमा पनि सरकारले स्पष्ट पारोस् । कोभिड-१९ को खोपका सम्बन्धमा जनमानसमा कुनै शंका र संकोच उत्पन्न हुन दिनु हुँदैन ।












Facebook Comments