सरकारविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । काठमाडौंसहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन गर्नुका साथै आमसभा गरेको हो ।

काठमाडौं उपत्यकामा शान्तिवाटिकामा सभा गरेको थियो । सहरका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे ।

महामन्त्री डा. शशांक कोइराला प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए भने नेता गगन थापा धनगढीको कार्यक्रममा सहभागी भए । पार्टी सभापति शेरबहादुर देउवाले भने बागमती प्रदेशको राजधानी हेटौंडाको कार्यक्रममा सहभागी भए ।

सभापति देउवाले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको दाबी गर्दै अब संसद् र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने स्पष्ट पारेका छन्।

उनले आजको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको बताए। ‘लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो’, उनले भनेका छन्, ‘अतः नेपाली कांग्रेसले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नु छ।’

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ। सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी कांग्रेसको छ।

कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए ।

उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए । कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.