कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्नेे बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन निर्देशन दिएका हुन् ।

मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देशन दिएका मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले बताए । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ ।

छलफलमा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी थिए । बोर्डले विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिस गरेको समाचार पहिलो पटक गत भदौ ३१ मा राससले सम्प्रेषण गरेको थियो ।

परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ ।

बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ संक्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्नेछ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.