चितवन । कोरोना भाइरसको संक्रमणबाट चितवनमा अहिलेसम्म १ सय १६ जनाको मृत्यु भएको छ।
नेपाली सेनाको कालिबहादुर गण, भतरपुरका अनुसार कोरोनाबाट मृत्यु हुनेहरुमा ६४ जना चितवनका र अन्य ५२ जना अन्य जिल्लाबाट उपचारका लागि आएका संक्रमित रहेका छन्। शवको व्यवस्थापन गर्दै आएको कालिबहादुर गणका अनुसार जसमध्ये १ सय ७ जनाको शव सेनाले व्यवस्थापन गरेको छ। नौ जनाको शव भने सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो।
गणका अनुसार मृत्यु भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व)का रहेका छन्। नवलपरासीका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो।
त्यसैगरी मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक÷एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
चितवनमा अहिलेसम्म ५ हजार ९ सय २३ जनामा संक्रमण देखिएको छ। तीमध्ये ६४ जनाको मृत्यु भएको हो। मृत्युदरको हिसाबले १.०८ प्रतिशत रहेको छ।
देशभरको तथ्याङ्कलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशत मात्रै रहेको छ। देशभरको कुल सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ९८४ रहेको छ। तीमध्ये ११६ जनाको चितवनमा मृत्यु भएको हो। नेपालमा मृत्यु भएकाहरुको हिसाबले चितवनमा मृत्यु भएकाहरुको प्रतिशत १२.०८ हुन आउँछ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका सङक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल मृत्यु सङ्ख्या बढी हुन आएको बताए। यहाँको सङ्घीय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत सङ्क्रमितको उपचार गर्दै आएका छन्।
सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमितको व्यवस्थित उपचार र मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सङ्क्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताए। पछिल्लो समय काठमाडौं जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ।
जिल्लाका अस्पतालहरुले ठूलो सङ्ख्यामा सङ्क्रमितको सफल उपचार गरी निको पार्न सफल भएको तिवारीले बताए। कोरोना नियन्त्रण र उपचारमा यहाँका सरोकारवाला निकायहरुको बीचमा भएको समन्वयका कारण सहज बनेको तिवारीको भनाइ छ।
Facebook Comments