प्रदेश २ काे चौथो अधिवेशन अन्त्य, १८ विधेयक पारित

जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभाको चौथो अधिवेशन विभिन्‍न १८ वटा विधेयक पारित गर्दै मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएकाे छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को प्रभाव बढेपछि मुलुकमा बन्दाबन्दी घोषणा गरिएपछि तीन महिनादेखि अवरुद्ध रहेको प्रदेशसभा असोज २५ गतेदेखि बस्न थालेको थियो ।

पछिल्लो साता पाँच दिन बैठक बस्दा विभिन्‍न नौवटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्‍जित यादवले जानकारी दिए ।

उनका अनुसार गत असोज २५ गतेयता स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्ड गठन र सञ्चालन गर्न बनेको विधेयक, प्रदेश वनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश अनुसन्धान ब्‍युरो गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।

यस्तै प्रदेश पदकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश उद्योग व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामति सेवाको गठन र सञ्चालन गर्न बनेको विधेयक, बालबालिकाको हक अधिकारसम्बन्धी विधेयक र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन र सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको देशसभा सचिवालयका सचिव रञ्‍जित यादवले जानकारी दिए ।

Facebook Comments