सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली : हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

काठमाडौं । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति लिएको भए पनि पछिल्लो समय नयाँ शैली अपनाएको छ ।

तर, पछिल्लो समय हुम्लामा बस्ती बसाइसकेपछि चीनले उक्त भूभागको चीनको भएको दाबी गरेको छ । यसअघि हुम्ला लुलुङजोङ क्षेत्रमा विभिन्‍न ११ वटा संरचनाहरु बनाएको छ । उक्त भवनमा चिनियाँहरु बस्‍ने गरेका छन् । त्यहाँ थप संरचनाहरु निर्माणको काम भइरहेको छ । अहिले चीनले उक्त भूमि आफ्नो भन्दै दाबी गरेको छ ।

चीनले तिब्बत स्वायत्त क्षेत्रको अलिस्थित बुरङ काउन्टीमा उक्त संरचनाहरु बनाएको चिनियाँ अधिकारीहरुले दाबी गरेको समाचार ग्लोबल टाइम्समा छ । यसअघि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी उक्त भवनहरु चिनियाँ भूभागमै रहेको र नेपालले फेरि निरीक्षण गर्नसक्ने बताएको थियो ।

उक्त संरचना निर्माण थाल्नुअघि नै गत मेमा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निशत गरेपछि मात्रै संरचना बनाइएको चीनको दाबी छ ।

नेपाल सरकारले पनि उक्त संरचनाहरु चिनियाँ भूमिमा नै भएको बताइरहे पनि सीमा अनुगमनमा भएको नेपाली कांग्रेसको टोलीले भने उक्त संरचनाहरु बनाइएको नेपालको सीमा क्षेत्रबाट दुई किलोमिटर नेपालतर्फ पर्ने दाबी गरेको छ ।

तर चीन सरकारले नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको हो । चीनले उक्त संरचनाहरु सीमा क्षेत्रबाट एक किलोमिटर भित्र चिनियाँ भूभागमा बनाएको बताएको हो ।

ग्लोबल टाइम्सले दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक जानकारी नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने उल्लेख गरेको छ । साथै भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको आरोप पनि ग्लोबल टाइम्सले जनाएको छ ।

नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा सीमा सम्झौता भएको थियो र सन् १९६३ जनवरीमा दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर भएको थियो । ती संरचना निर्माण गरिएको सम्बन्धमा विवाद उत्पन्‍न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।

Facebook Comments