‘आर्थिक चलखेल राेक्न जग्गाको कित्ताकाट फुकुवा’

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णयसँगै आर्थिक चलखेल राेकिने विश्वास व्यक्त गरेकाे छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा सम्बन्धि कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको बताएकी छिन् ।

ऐन कार्यान्वयनमा नआउँदा जग्गा कारोबारमा आर्थिक चलखेल हुने क्रम बढेकाले त्यसलाई रोक्न कित्ताकाट खुला गरिएको उनले बताएकी हुन् ।

भू–उपयोग ऐन २०७६ समयमै कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम पनि नहुने क्रम बढेकाले कित्ताकाट खुलाउने निर्णय गरिएको मन्त्री अर्यालले बताइन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले आर्थिक चलखेलमा हुने गरेका सुशासन विरोधी गतिविधि रोक्ने हुटहुटीले कित्ताकाट खुला गर्ने निर्णय गरिएको पनि बताइन् ।

उनले भनिन्, ‘‘ऐन कार्यान्वयन नहुँदा समस्या भयो । सुशासन कायम गर्ने अभियान हामीले चलाउन खोज्यौँ तर सुशासन विरुद्ध गतिविधिहरु बढ्न थाले यसबाट पैसा हुँदा नहुने काम पनि हुने पैसा नहुँदा हुने काम पनि नहुने क्रम बढ्यो । त्यसलाई रोकेर सुशासन कायय गर्न अनेक संघर्ष गर्यौँ ।

प्रविधिको प्रयोग पनि भयो तर केही केही कुरा बाहिर आउन थालेपछि कित्ताकाट सम्बन्धि प्रबन्ध गरेर जाउँ भनेर हतार गरिएको हो । तलको चलखेल देखेर डर लागेर हतारो गरिएको हो ।’’

Facebook Comments