चार डनको मुद्दा सर्वोच्चमा अल्झियो, जेलभित्रै नाइके बनेर असुली धन्दा

काठमाडौं। गुन्डार्दी तथा अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा चार गुन्डा नाइकेहरु विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा वर्षौदेखि सुनुवाई हुन सकेको छैन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच जना गुन्डा नाइकेविरुद्ध मुद्दा दायर गरेकोमा चार जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन भएको थियो ।

दीपक मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन भन्ने मिलन गुरुङको मुद्दा सर्वोच्चमा रहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक मनाङेविरुद्ध मुद्दा दायर गरेपनि उनलाई बिशेष अदालतले सफाइ दिएको छ । बिशेष सरकारी वकिल कार्यालयको सेटिङमा उनीविरुद्ध पुनरावेदन भएन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा विभागले २०७० साल जेठ ५ गते लामासहित पाँच जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो ।

उनीहरुमध्ये गणेश लामालाई आशिंक रुपमा दोषी ठहर भएपनि अरुले सफाई पाएका थिए । तत्कालिन फोरम तथा हाल नेपाली कांग्रेसका नेतासमेत रहेका लामा र सरकारले हालेको पुनरावेदन सर्वोच्च अदालतले २०७६ पुस २२ गते फाइल मगाउने आदेश गर्दै मुद्दा सुरु गरेपनि अघि बढ्न सकेको छैन ।

विशेष अदालतले उनलाई एक वर्ष कैद र एक करोड ४० लाख ५० हजार बराबरको बिगो बापतको सम्पत्ति जफत हुने फैसला सुनाएको थियो । लामाले विशेषको फैसलालाई चुनौती दिँदै २०७५ कात्तिक ९ गते पुनरावेदन दर्ता गरेका थिए ।

लामाले मुद्दा दर्ता गरेको दुई महिनापछि सरकारी पक्षले पनि विशेषको अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको थियो । मागभन्दा कम सजाय भएको भन्दै पुनरावेदन भएको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले फाइल मगाउने आदेश गत वर्ष दिएको थियो ।

उनले आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । विशेष अदालतका तत्कालिन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले आशिंका ठहरको फैसला सुनाएको थियो ।

लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो । काभ्रेको सामान्य परिवारमा जन्मिएका लामाले रक्तचन्दनको कारोबारदेखि ठेक्कापट्टाबाट अवैध धन जम्मा गरेको स्रोतको भनाइ छ ।

अवैध आर्जनबाट सम्पत्ति आर्जन गरेको आरोप लागेका गुन्डा नाइके अभिषेक गिरीको मुद्दा पनि हाल सर्वोच्चमा छ । विभागले दाबी गरेको सम्पत्ति ऐन जारी हुनुभन्दा अघि नै आर्जन गरेकाले दोषी ठहर गर्न नमिल्ने विशेषको फैसलामा उल्लेख छ । २०७५ पुस ९ गते सरकारका तर्फबाट सर्बोच्चमा पुनरावेदन गरिएको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गरेको पुनरावेदनलाई सर्वोच्चले २०७७ असार ३ गते विपक्षीलाई झिकाउने आदेश गरेको थियो । सर्वोच्चको यो आदेशसँगै उनको मुद्दा सर्वोच्चमा सुनुवाइ अघि बढेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले गिरीको मुद्दालाई पुनरावलोकन गर्ने अनुमतिसँगै विपक्षी झिकाउने आदेश पनि दिएको थियो ।

गिरीलाई विशेष अदालतले २०७५ असार ५ गते सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाई दिएको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले बस्नेतलाई सफाइ दिएको थियो ।

विभागले गिरीसँग २ करोड ९४ लाख रुपैयाँ अवैध सम्पत्ति रहेको दाबी गरेको थियो । विभागले यसरी आर्जन गरेको सम्पत्ति गिरीले श्रीमती अनिषा गिरीको नाममा समेत राखेको भन्दै उनलाई पनि विपक्षी बनाएको थियो । गिरी हाल अपहरण मुद्दामा जेलमै छन् । जेलभित्रै नाइके बनेर उनले असुली धन्दा चलाइरहेका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दा लागेका गुन्डा नाइके चक्रे मिलन अर्थात् मिलन गुरुङले पनि विशेष अदालतवाट सफाई पाएका थिए । उनको मुद्दा पनि सर्वोच्चमा छ । विशेषको फैसला त्रुटीपूर्ण रहेको भन्दै सरकारी पक्षले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन दायर गरेको थियो । उक्त निवेदनमा सुनुवाई गर्दै असार ३ गते सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश भएको थियो ।

न्यायाधीश मिरा खड्का र मनोजकुमार शर्माको इजलाशले मिलन गुरुङको मुद्दा सर्वोच्चमा सुरु गर्ने आदेश गरेको हो । गुरुङले विशेष अदालतबाट २०७४ माघ १० गते सफाई पाएका थिए । चक्रे मिलन अहिले पनि गुन्डागर्दीमा सक्रिय रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको थियो। चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो ।

बिशेष अदालतबाट सफाइ पाउने अर्का गुन्डा नाइके पर्शुराम बस्नेत हुन् । बस्नेतसँग विभागले ११ करोड बराबरको सम्पत्ति रहेको दाबी गरेको थियो । बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्ति लुकाएको दाबी विभागको थियो ।

मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बंगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवालगायतमा लगानी गरेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो ।

तर विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाई दिएको हो । विशेषले बस्नेतलाई २०७४ चैत २५ गते सफाई दिने फैसला सुनाएको थियो। न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई सफाई दिएको थियो ।

सो मुद्दापछि उनको श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको छ । उनलाई संरक्षण गर्दै आएका सांसद महेश बस्नेत र किसन श्रेष्ठसँग पनि उनको सम्बन्ध बिग्रिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको इतिहासमै गुन्डाविरुद्धको मुद्दालाई सबैभन्दा ठूलो मुद्दा मानिन्छ । तर, धेरैले विशेष अदालतबाट सफाइ पाएपछि गुन्डागर्दीमा सक्रियहरुको मनोबल बढेको छ । (दृष्‍टि साप्ताहिकबाट )

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.