निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

काठमाडाैँ । भारतकाे उत्तर प्रदेशमा एक बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि स्विट्‌जरल्यान्डको जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता भएको छ । विश्वकै एक उत्कृष्ट विमानस्थल जुरिचले यसअघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अस्वीकार गरेको थियो ।

उत्तर प्रदेश सरकारले जेवरमा नोयडा अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्नका लागि जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । चार चरणमा बन्‍ने यो विमानस्थलको यात्रु क्षमता सात लाख रहने बताइएको छ । उत्तर प्रदेशका मुख्य सचिवले विश्वस्तरका सबै सुविधानहरु विमानस्थलमा रहने बताएका छन् ।

नेपालले निजगढ विमानस्थलका लागि जुरिचलाई आग्रह गरे पनि अस्वीकार गरेको थियो । तर, जुरिचले भारतको उत्तर प्रदेशको जेवरमै बृहत अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि भने तयार भउको हो । निजगढ विमानस्थल निर्माणका क्रममा ठूलो जंगलको विनाश गरिने भन्दै विवाद सिर्जना भएको छ ।

यसअघि कोभिड-१९ का कारण हवाई क्षेत्रमा ठूलो संकट सिर्जना भएको भन्दै जुरिचले लगानी बोर्डलाई निजगढ निर्माणका लागि प्रस्ताव पठाउन अस्वीकार गरेको थियो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा यही वर्षदेखि निजगढ निर्माणको काम अघि बढाउने बताए पनि जुरिचले पनि चासो नदेखाएपछि निर्माण प्रक्रिया अन्योलमा परेको छ । उत्तर प्रदेशमै बृहत अन्तर्राष्ट्रिय विमानस्थल बन्‍ने भएपछि निजगढ विमानस्थलको प्रभावकारिता कम हुनेसमेत बताइएको छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धका कारण स्वीस कम्पनी जुरिचका अधिकारीहरु दिल्ली आउन समय लागेको सम्झौतामा हस्ताक्षर गर्न केही ढिलाइ भएको बताइएको छ । उक्त विमानस्थल निर्माणका लागि करिब ५ हजार हेक्टर जमिन आवश्यक पर्ने र आठवटा रनवे हुने जनाइएको छ । यो पहिलो चरणको काम सन् २०२३ सम्म सन्पन्‍न गर्ने गरी उत्तर प्रदेशसँग जुरिचको सम्झौता भएको छ ।

Facebook Comments