काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर प्रत्येक १० मध्ये एक जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन सक्ने बताएको छ । डब्ल्यूएचओका हेल्थ इमर्जेन्सिजका प्रमुख माइक रयानले यसको अर्थ विश्वभरको जनसंख्याको ठूलो हिस्सा जोखिममा रहेको बताएका हुन् ।
अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या तीन करोड ५० लाख नाघिसकेको छ । यद्यपि डब्ल्यूएचओका अनुसार संक्रमितको वास्तविक संख्या ८० करोडको हाराहारीमा हुन सक्छ ।
विशेषज्ञहरुले निरन्तर अहिलेसम्म पुष्टि भएका संक्रमितको तुलनामा वास्तविक संक्रमितको संख्या निकै हुन सक्ने बताउँदै आएका छन् । डब्ल्यूएचओको यो बैठक स्विट्जरल्याण्डको जेनेभास्थित मुख्यालयमा भएको थियो । जसमा विश्वभर फैलिएको महामारीबाट पार पाउने तरिकाको विषयमा चर्चा भएको थियो ।
अहिले विश्वका केही मुलुकहरुमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । डब्ल्यूएचओका हेल्थ इमर्जेन्सिजका प्रमुख रयानले विश्वको १० प्रतिशत जनसंख्यामा कोरोनाको संक्रमण भइसकेको हुन सक्ने अनुमान गरेका हुन् ।
डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले विश्वभर फरक फरक मुलुकमा कोरोनाले फरक फरक तरिकाले असर पारेको र यसबाट पार पाउन सबै एकजुट हुनु जरुरी रहेको बताएका छन् । अहिलेसम्म समग्र कोरोना संक्रमित र मृतकमध्ये आधाजसो केवल तीन मुलुकमा भेटिएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोनाको कारण १० लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । स्रोत : बीबीसी
Facebook Comments