गोसाइँकुण्डको यात्रा सहज हुँदै

रसुवा । उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । सदरमुकाम धुञ्चे नजिक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र होटेल, लज सञ्चालन भएसंँगै अब गोसाइँकुण्डको यात्रा सुरक्षित भएको हो ।

धार्मिक क्षेत्रका उक्त स्थानमा नियमित होटल तथा लज सञ्चालन भएका कारण भोजन तथा बासको राम्रो प्रबन्ध भएको चन्दनबारीका होटल व्यवसायी पासाङर्घिमी तामाङले बताए ।

पदमार्ग सुधारका लागि भर्खरै गोसाइँकुण्डमा नेपाली सेना कालीजङ्ग गणबाट रेलिङ स्थापना एवं धुञ्चेको तिवारी बगर क्षेत्रमा विगतमा विश्व वन्यजन्तु कोष नामक अन्तरराष्ट्रिय गैससबाट बाटो र रेलिङ स्थापना योगदान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेपाली सेनाको आफ्नो आन्तरिक जनशक्तिको उपयोग गरी पदमार्गमा गरेको पूर्वाधार विकासको योगदान जनहितकारी भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । लौरीविनायकबाट पश्चिम हेर्दा देखिने अग्ला हिमाल तथा प्राकृतिक छटाको मनमोहक दृश्य देखिन्छ ।

पहिले घुमाउरो असहज बाटो नुवाकोटको त्रिशूलीदेखि नै हिँड्नुपर्ने र ओढारको बास बस्नुपर्ने थियो । अहिले काठमाडौँबाट धुञ्चेसम्म नियमित बस सेवाको सुविधाले तीन दिनमै धार्मिक यात्रा सम्पन्न गर्न सकिने वातावरण भएको स्थानीय बासिन्दाले बताएका छन् ।

धुञ्चेबाट शुरू हुने पैदल यात्राका क्रममा तिवारी बगर, खन्ती, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङ्पाटी, लौरीविना, गणेशगौँडा, तेर्सो ककरोभीर हुँदै गोसाइँकुण्ड पुग्न सहजता आएको छ । गङ्गादशहरा र जनैपूर्णिमा पर्वका अवसरमा विशेष मेला लाग्ने भए पनि विसं २०७२ को भूकम्पपछि बाह्रै महिना दर्शनका लागि भक्तजन गोसाइँकुण्ड पुग्ने वातावरण बनिसकेका अवस्थामा हाल कोभिड –१९ का कारण फाट्टफुट्ट मात्र आउने गरेको होटल व्यवसायी तामाङले बताए ।

गोसाइँकुण्ड जाने भक्तजनलाई लौरीका लागि वनस्पति नोक्सान नगर्न नगराउन र फोहरमैला तोकिएको सुरक्षित स्थानमा मात्र फ्याँक्न सबैमा आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.