ट्रमा सेन्टरको घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा अभद्र व्यवहार गर्ने जिता बरालमाथि छानविन हुने भएको छ । ट्रमा सेन्टरमा भर्ना गरिएका डा. गोविन्द केसीको समर्थनको नाममा उनले ट्रमा सेन्टरमा अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

सामाजिक अभियन्ताको रुपमा प्रस्तुत हुँदै ज्ञानेन्द्र शाहीका कार्यक्रमहरुमा समेत देखापर्ने तथा नर्सिङ काउन्सिलका सदस्य रहेकी जिता बरालले गत असोज ६ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गत रहेको ट्रमा सेन्टरमा हंगामा मच्चाएका थिइन् ।

त्यसका विरुद्ध ट्रमा सेन्टरले आजै नर्सिङ संघलाई आवश्यक कारवाहीका लागि पत्र लेख्दै ‘सो घटनाको विषयमा आवश्यक कारवाही गरी अस्पताललाई समेत जानकारी गराउन’ अनुरोध गरेको थियो ।

सो घटना सार्वजनिक भएपछि र राष्ट्रिय ट्रमा सेन्टरले हिजो पत्र नै लेखेपछि आजै नर्सिङ संघमा सल्लाहकारसहितको केन्द्रीय कार्य समितिको बैठक बसेको थियो । सोही बैठकले संघकी आजीवन सदस्य एवं नाम्सकी शिक्षिका जानकी धामीको संयोजकत्वमा तीन सदस्यीय छानविन कमिटी गठन गरेको थियो ।

तीन दिनभित्र प्रतिवेदन पेश गर्ने गरी गठन गरिएको सो छानविन समितिमा नाम्सकै राजकमाुरी ज्ञवाली र पाटन अस्पतालकी दिलकुमारी थापा सदस्य रहेका छन् । सो बारेमा जानकारी दिँदै संघले ट्रमा सेन्टरलाई एक पत्र लेखी ‘समितिलाई सत्यतथ्य सूचनासहित आवश्यक सामग्रीहरु उपलब्ध गराई सहयोग गरिदिन’ अनुरोध समेत गरेको छ ।

सोही घटना बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले ‘संघका आजीवन सदस्य समेत रहेकी जीता बरालको गतिविधि असामान्य र अमर्यादित रहेको’ बताउँदै ‘छानविनमा दोषी ठहरिएमा कारवाही गर्ने’ जानकारी दिएकी छिन् ।

त्यस्तै संघकी सल्लाहकार एवं पूर्वअध्यक्ष तथा नाम्सका रजिष्टार समेत रहेकी प्रमिला देवानले ‘कार्यक्षेत्रभन्दा बाहिर नर्सले सेतो कोट लगाउनु नर्सको मर्यादामा नपर्ने उल्लेख गर्दै नर्सहरुलाई आफ्नो आचारसंहितलाई नबिर्सन तथा पेशामा समर्पित हुन आग्रह गरेकी थिइन् । प्राप्त जानकारीअनुसार सो छानविन समितिले भोलिदेखि नै कार्य शुरु गर्ने भएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.