एसिड आक्रमणकारीलाई कडा कानून: १० लाखसम्म जरिवाना, २० वर्ष कैद

काठमाडौं – सरकारले एसिड (तेजाब) आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको हो ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुसँगको भेटमा कडा कानून ल्याउन लागेको बताएका थिए । नेपालको संविधानको धारा ११४ को उपधारा बमोजिम मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराए नयाँ कानून ल्याउन लागिएको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि अध्यादेश ल्याउने प्रस्ताव पारित गरेको हो । नयाँ कानूनअनुसार यदि आक्रमणबाट मुख्य अंग आँखा, कान, मुख छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष र दश लाख रुपैयाँ जरिवाना हुनेछ ।

त्यस्तै कुनै आक्रमणकारीले आक्रमण गर्दा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहारमा क्षति भएर कुरुप भएमा, महिलाको हकमा एउटा स्तन काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्ण रुपमा जली काम नलाग्ने भएमा, टाउकोको कुन भाग जली क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भएमा दश बर्षदेखि २० वर्षसम्म कैद र सातदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

त्यसैगरी, यदि शरीरको कुनै अंग भंग वा शारीरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम ५ बर्षदेखि १ वर्षसम्म कैद र एक लाखदेखि ५ लाखसम्म जरिवाना हुनेछ भने पीडित व्यक्तिको तत्काल मृत्यु नभए पनि त्यसैका कारण पछि मृत्यु भएमा ज्यान मारेको आरोपमा कारबाही गरिनेछ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरुको सरकारले निःशुल्क उपचार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपालमा एडिस आक्रमणका घटना बढ्दै गएपछि जनस्तरबाट एसिड आक्रमणकारीका लागि कडा कानून ल्याउनुपर्ने विषयमा बहस सिर्जना भएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.