काठमाडौं । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् ।
बजारमा प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तो मूल्यमा पाइने चामललाई ५ सय रुपैयाँभन्दा बढी मूल्य तिरेर खाद्य कम्पनीले १ लाख क्विन्टल चामल खरिद गरिरहेको छ । कम्पनीले सोना मन्सुली, अरुवा मोटा र स्टिम जिरा मसिनो गरी १ लाख क्विन्टल चामल खरिद गरेर विराटनगर, लहान, वीरगन्ज, काठमाडौं, नेपालगन्ज, सुर्खेत र धनगढीमा भण्डारण गर्ने तयारी गरेको छ ।
दुई महिनापछि धान पाक्ने भएकाले कम्पनीले अहिले यति ठूलो परिमाणमा चामल खरिद गर्नुपर्ने आवश्यकता नभएको एक अधिकारीले बताए । कमिसन खाने दाउमा कम्पनीले आवश्यकभन्दा बढी चामल व्यापारीसँग खरिद गर्न थालेको उनले बताए । साधारण हिसाब गर्दा पनि १ लाख क्विन्टल चामल खरिद गर्दा प्रतिक्विन्टल ५ सय रुपैयाँका दारले राज्यलाई सिधै ५ करोड घोटाला हुन जाने अधिकारीको भनाइ छ ।
कम्पनीका कर्मचारीले चामलमा कमिसन खाने चक्करमा महँगो मूल्य राखेर व्यापारीसँग गुणस्तरहीन चामल किन्ने र विभिन्न ठाउँको चामल गोदाममा थन्क्याउने चलखेल भएको अधिकारीले बताए । एक जना जानकार र स्थानीय व्यापारीका अनुसार बजार मूल्यभन्दा प्रतिक्विन्टल साढे ४ सय रुपैयाँ देखि ७ सय रुपैयाँसम्म बढी महँगोमा खाद्य व्यापार कम्पनीले चामल खरिद गरिरहेको छ ।
साढे ४ सय देखि ७ रुपैयाँसम्म महँगो मूल्य तिरेको चामल कमसल गुणस्तरहीन भएको उनीहरूको भनाइ छ । स्रोतका अनुसार कर्मचारीले व्यापारीसँग कमिसन खाने दाउमा किसानसँग धान नकिन्ने र व्यापारीसँग किन्ने गरेका छन् । समयमा किसानसँग धान नकिनेर कमिसन खानलाई व्यापारीसँग महँगोमा चामल खरिद गरी कम्पनीकै कर्मचारीको आन्तरिक मिलेमतोमा राज्यको सम्पत्ति घोटाला गरिएको छ ।
कर्मचारीले व्यापारीसँग कमिसन खान चामल खरिद गर्ने प्रक्रियामा खाद्य कम्पनीका कर्मचारीले नै आफ्नो नजिकका चिनेजानेका व्यापारीलाई फोन गरेर टेन्डर हाल्न लगाउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार टेन्डर मिलाइदिएबापत कर्मचारीले व्यापारीसँग पैसा लिने गरेका छन् ।
खाद्य व्यापार कम्पनीको १ लाख क्विन्टल चामल खरिदका लागि पाँच वटा राइस मिलले टेन्डर पाएका छन् । चामल खरिदको टेन्डर पाउनेमा गिरिधारी फुड इन्डस्ट्रिज सुनसरी, श्याम बाबा राइस एन्ड फ्लोर सिम सुनसरी, लक्की राइस मिल, बारा, विकास फ्लोर मिल काठमाडौं र सिद्धार्थ बुढानी सेवा वीरेन्द्रनगर सुर्खेत रहेका छन् ।
कम्पनीले गिरिधारी फुड इन्डस्ट्रिज सुनसरीबाट प्रादेशिक कार्यालय विराटनगरका लागि सोना मन्सुली ५ हजार क्विन्टल चामल खरिद गरेको छ । कम्पनीले प्रतिक्विन्टल ४ हजार ५ सय ३९ रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, श्याम बाबा राइस एन्ड फ्लोर सिम सुनसरीसँग कम्पनीले लहान मुख्य शाखा कार्यालयका लागि र वीरगन्जको शाखा कार्यालयका लागि १९ हजार ५ सय क्विन्टल सोना मन्सुली र स्टिम चामल खरिद गरेरको छ । स्टिम जिरा मसिनो १० हजार र सोना मन्सुली ९ हजार ५ सय क्विन्टल खरिद गरेको हो ।
कम्पनीले सो मिलसँग सोना मन्सुली प्रतिक्विन्टल चामल ४ हजार ५ सय २४ रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल ५ हजार ९ सय ४७ रुपैयाँमा रहेको छ । यसैगरी, लक्की राइस मिल बाराबाट वीरगन्जका लागि सोना मन्सुली चामल ५ सय क्विन्टल र काठमाडौंको प्रादेशिक कार्यालय थापाथलीका लागि १० हजार क्विन्टल सोना मन्सुली र स्टिम जिरा मसिनो ५ हजार क्विन्टल गरेर १५ हजार ५ सय क्विन्टल खरिद गरेको छ ।
काठमाडौंका लागि सोना मन्सुली प्रतिक्विन्टल मूल्य ४ हजार ७ सय ३० रुपैयाँमा रहेको छ भने स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल मूल्य ६ हजार १ सय ५० रुपैयाँमा रहेको छ ।
लिक्की राइस मिलका सञ्चालक महम्मद जमिरले प्रतिक्विन्टल सोना मन्सुली ४ हजार १ सयमा रुपैयाँ बिक्री गर्ने गरेको बताए । जमिरकै अनुसार कम्पनीले प्रतिक्विन्टलमा ६ सय ३० रुपैयाँ महँगो मूल्य तिरेको छ । यसैगरी, स्टिम जिरा मसिनो चामल पनि कम्पनीले प्रतिक्विन्टल ६ सयदेखि सय रुपैयाँ बढी तिरेर ६ हजार १ सय ५० रुपैयाँमा खरिद गरेको छ ।
यसैगरी विकास फ्लोर मिल काठमाडौंसँग नेपालगन्ज मुख्य शाखा कार्यालय र सुर्खेत प्रादेशिक कार्यालयका लागि ३६ हजार क्विन्टल अरुवा मोटा चामल र स्टिम जिरा मसिनो चामल ४ हजार क्विन्टल छ । नेपालगन्जका लागि १९ हजार क्विन्टल अरुवा मोटा चामल छ भने १ हजार क्विन्टल स्टिम जिरा मसिनो चामल छ ।
सुर्खेतमा अरुवा मोटा चामल १७ हजार क्विन्टल छ भने ३ हजार स्टिम जिरा मसिनो रहेको छ । कम्पनीले नेपालगन्जको अरुवा मोटा चामलको प्रतिक्विन्टल मूल्य ४ हजार ३ सय ८१ रुपैयाँ छ भने स्टिम चालमका लागि प्रतिक्विन्टल ५ हजार ९ सय ९४ रुपैयाँ छ । यसैगरी, सुर्खेतका लागि अरुवा मोटा चामलको प्रतिक्विन्टल मूल्य ४ हजार ४ यस ७१ रुपैयाँ तिरेको छ भने स्टिम जिरा मसिनोका लागि ६ हजार ८४ रुपैयाँ तिरेको छ ।
सिद्धार्थ बुढानी सेवा वीरेन्द्रगर सुर्खेतबाट कम्पनीले प्रादेशिक कार्यालय धनगढीका लागि अरुवा मोटा चामल १९ हजार क्विन्टल र स्टिम जिरा मसिनो चामल १ हजार क्विन्टल खरिद गरेको छ । कम्पनीले अरुवा मोटा चामलमा प्रतिक्विन्टल ४ हजार ५ सय २९ रुपैया तिरेको छ भने स्टिम जिरा मसिनो चामललाई प्रतिक्विन्टल ६ हजार ४ सय २० रुपैयाँ तिरेको छ ।
खाद्य कम्पनीका खरिद इकाइ प्रमुख डिल्लीराज लम्सालले चामल खरिद गर्दाको मूल्यमा आफू जावाफदेही नभएको बताए । उनले खरिद प्रक्रिया आफ्नो इकाइबाट भए पनि चामलको मूल्यबारे बोल्ने अधिकार नभएको बताए ।
कम्पनीका नायब महाप्रबन्धक मोतीराज ज्ञवालीले प्रतिस्पर्धाका आधारमा टेन्डरद्वारा नै चामल खरिद गरेको बताए । बजार मूल्यकै आधारमा चामलको मूल्य निर्धारण गरिएको उनले बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले प्रतिस्पर्धामा टेन्डर गर्दा बजार मूल्य अध्ययन गरेर लागत अनुमानका आधार चामलको मूल्य निर्धारण गरिएको दाबी गरे ।
‘टेन्डर आह्वान गर्दा लकडाउनको समय थियो । लकडाउन हुँदा चामलको मूल्य केही महँगो नै थियो । त्यसैले टेन्डर गर्दाको मूल्य र अहिलेको बजार मूल्यमा फरक परेको हुन सक्छ,’ उनले भने । ‘प्रतिस्पर्धामा जुन कम्पनी अघि आएका थिए, उनीहरूसँग समेत बजार मूल्य राम्रौसँग बुभ्mदा लागतको अनुमानमा चामलको खरिद मूल्य निर्धारण गरेका हौं,’ कार्यकारी अधिकृत सुवेदीले भने ।
कार्यकारी सुवेदीले चामल खरिद गर्दा चामलको गुणस्तरमा कुनै तलमाथि नगरी खाद्य प्राविधिकको रिर्पाेटअनुसार नै चामल भण्डारण गर्न निर्देशन दिएको बताए । उनले खाद्य कम्पनीकै केही कर्मचारीले खाद्य प्राविधिकको निर्देशन नटेरी मनमानी गर्ने गरेको भान भएको बताए । तर, आपूले प्राविधिकको रिपोर्टलाई व्यवस्ता नगरेर उनीहरूकै सुझावअनुसार नै खाद्य भण्डारण गर्न निर्देशन दिएको कार्यकारी अधिकृत सुवेदीले बताए । कौशिला कुँवर / राजधानी दैनिकबाट
Facebook Comments