हिरासतमा युवककाे मृत्यु प्रकरण : रौतहटका एसपी खड्का हेडक्वार्टर तानिए

काठमाडाैं । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई हेडक्वार्टर तानेकाे छ । इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख एसपीको जिम्मेवारीबाट हटाएर उनकाे ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाएको थियो । त्यसपछि प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ ।

१९ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् ।

Facebook Comments