कोरोना प्रक्षेपण भ्रामक

coronavirus-thumb-img

काठमाडाैं । अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ।

प्रक्षेपण २

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो। खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो। जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो।

प्रक्षेपण ३

नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही सातापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्रक्षेपण गर्दै भन्यो, ‘मुलुकलाई कोरोना संक्रमणमुक्त राष्ट्र घोषणा गर्नुपर्छ। विभिन्न भाषामा प्रचार सामग्री तयार गरी पर्यटक भित्र्याउनुपर्छ।’

०००

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ साबित भएका छन्। अक्सफोर्डको प्रक्षेपणअनुसार समुदायमा संक्रमण फैलिइरहेको अवस्थामा कोरोनाबाट झन्डै २ करोड ४० लाख जनसंख्या संक्रमित हुनेछन्। जुनदेखि सेप्टेम्बर (असार १७ देखि भदौ १५ गतेसम्म) प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने प्रक्षेपणमा उल्लेख छ। जुलाईदेखि अक्टोबर (साउन १७ देखि कात्तिक १५ सम्म) संक्रमण उच्च बिन्दुमा पुग्ने जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारी भने नेपालमा सबै ठाउँमा कोरोना संक्रमण समुदाय तहमा फैलिनसकेको दाबी गर्छन्। कोरोना संक्रमण कतिपय ठाउँमा क्लस्टर (समूहमा) र तराईका कतिपय स्थानमा समुदाय उन्मुख रहेको मन्त्रालयले जनाएको छ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे अक्सफोर्डको प्रक्षेपण गलत रहेको दाबी गर्छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महामारीको बेला यस्ता भ्रम फैलिरहन्छन्। यस्ता हल्ला र भ्रमको विश्वास गर्नु आवश्यक छैन।’

अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र अक्सफोर्ड पोलिसी एन्ड एनालिटिक्स फर हेल्थ अफ दी न्यु फिल्ड डिपार्टमेन्ट अफ मेडिसिनले नेपालमा कोरोनाको अवस्थाबारे हालै प्रक्षेपण गरेका हुन्। मूलतः वैज्ञानिक आधारमा रहेर प्रक्षेपण गरिन्छ। यसलाई अनुसन्धानको एउटा भागका रूपमा लिइन्छ। अक्सफोर्डले डिफिडको सहयोगमा अध्ययन गरी प्रक्षेपण गरेको हो। यो गणितीय मोडलमा आधारित रहेको जानकार बताउँछन्।

‘संक्रामक रोगको गतिशीलता बुझ्न, सम्भावित रणनीतिको मूल्यांकन गर्न र पूर्वानुमान गर्न सकिन्छ। यस्ता मोडलहरूले समयपूर्व हस्तक्षेप गर्ने सम्भावित खतरासम्बन्धी गुणात्मक चेतावनी प्रदान गर्छ। स्वास्थ्य प्रणालीमा पर्ने बोझको अनुमान गर्न सहयोग गर्छ’, प्रक्षेपण रिपोर्टमा छ।

जनस्वास्थ्यविद् डा. सुरेश तिवारी भाइरसको ट्रेन्ड कसरी जान्छ भन्ने नै मुख्य कुरा भएको बताउँछन्। ‘कोरोना भाइरसबाट कति संक्रमित होलान् र संक्रमणको दर कसरी जान्छ ? कहिले चुचुरो (पिक)मा पुग्छ भन्ने आधारमा प्रक्षेपण गरिन्छ’, नेपालमा कोरोना जोखिमलाई सूक्ष्म ढंगले अध्ययन गर्दै आएका डा. तिवारी भन्छन्, ‘अक्सफोर्डले पनि समुदायमा संक्रमण भइरहे के हुन्छ भन्ने आधारमा रहेर प्रक्षेपण गरेको देखिन्छ।’

मन्त्रालयले ‘लो सिनारियो’मा रहेर प्रक्षेपण गर्दा धोका भएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीको ठम्याइ छ। यस्तो प्रक्षेपणले सरकारलाई नै धोका भयो। प्रक्षेपण उच्च (हाई सिनारियो)मा गर्नुपथ्र्यो। प्रक्षेपण गर्दा सीमा वारपार (क्रस बोर्डर)लाई ध्यान दिइएन’, डा. मरासिनी भन्छन्, ‘कोरोना भाइरस प्लेन चढेर मात्र आउँछ भन्ने खालको भयो। अवस्था त्यो होइन। सीमापारिबाट गाडी चढेर र पैदलसमेत कोरोना संक्रमित आए। खुला सडकबाट मात्र होइन, जंगलै जंगल पनि आए।’

स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्रालयका प्रक्षेपण सुरुमै गलत देखिए। अक्सफोर्डको प्रक्षेपण समुदायमा संक्रमण फैलिरहेको अवस्थामा संक्रमित हुने र ज्यान गुमाउने संख्याको हो।

समुदायमा संक्रमण विस्तारसँगै त्यसबाट हुन सक्ने क्षतिका आधारमा अक्सफोर्डले प्रक्षेपण गरेको छ। ‘सुरक्षाका कुनै पनि मापदण्ड पालना नगरिएको अवस्थामा मुलुकको ८१ प्रतिशत जनसंख्या संक्रमित हुने प्रक्षेपण गरेको देखिन्छ। समुदायमा कोरोना संक्रमण भइरहेको अवस्थामा यति जनसंख्या संक्रमित हुन सक्छन् भन्ने प्रक्षेपण हो’, प्रक्षेपणमा संलग्न नरहे पनि अक्सफोर्डको रिपोर्ट अध्ययन गरेका डा. तिवारी भन्छन्, ‘मेरो व्यक्तिगत अध्ययनले के देखाउँछ भने ८१ प्रतिशत जनसंख्या संक्रमित हुन धेरै लामो यात्रा गर्नुपर्ने देखिन्छ। यो वर्षौंको लामो यात्रा हो।’

अक्सफोर्डले आगामी चार महिनासम्ममा १ प्रतिशत जनसंख्या संक्रमित हुने प्रक्षेपण गरेको छ; जुन अहिलेको संक्रमण दरसँग मिल्दो देखिँदैन। अहिले कुल संक्रमित संख्या झन्डै ३८ हजार पुगेको छ। दैनिक औसत १ हजारको संख्यामा संक्रमित थपिने गरेको सरकारी तथ्यांक छ। ‘अहिलेको संक्रमण अवस्था र दरलाई हेर्दा अक्सफोर्डको प्रक्षेपणसँग मेल खाने देखिँदैन। चार महिना लामो लकडाउन घोषणा गरियो। संक्रमणको चेनलाई लकडाउनले रोक्यो’, डा. तिवारी भन्छन्।

दुईजना संक्रमित पुष्टि हुनेबित्तिकै लकडाउन गरिएका कारण समुदायमा संक्रमण छिटो विस्तार हुन नपाएको विज्ञको मत छ। लकडाउन घोषणालगत्तै भारतबाट आएका नेपालीको व्यवस्थित क्वारेन्टाइन र परीक्षण व्यवस्था नहुँदा संक्रमण क्रमशः जिल्लाजिल्लामा विस्तार हुन पुगेको हो। मास्क र स्यानिटाइजरको प्रयोग बढ्दै गएको र उपचारको पूर्वतयारी एवं व्यवस्थापनमा तीव्रता दिइएकाले अक्सफोर्डको प्रक्षेपण सही साबित हुन नसक्ने नेपाली विज्ञको आकलन छ।

‘संक्रमणको अवस्था कस्तो हुन्छ भन्नेबारे नागरिकमै भर पर्छ। अहिलेको अवस्था लापरबाहीकै कारण आएको हो’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘सुरक्षाका मापदण्ड अपनाए संक्रमण विस्तार हुन पाउँदैन। कोरोना नियन्त्रणको बल जनताको कोर्टमा छ।’

डा. तिवारीका अनुसार विभिन्न सञ्चारमाध्यमले कोरोेना संक्रमणबाट जोगाउन जनचेतना फैलाइरहेका छन्। मास्क लगाउने एवं साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोगमा वृद्धि भइरहेको छ। यसले पनि ८१ प्रतिशत संक्रमित पुग्ने सम्भावना न्यून छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमण अझै केही वर्ष रहिरहने उल्लेख गर्दै सावधानीपूर्वक कोरोनासँगै जीवन बिताउनुपर्ने जनाएको छ। त्यसका लागि मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने हो। मास्क लगाउँदा भाइरसको स्रोतमै नियन्त्रण हुने विज्ञको सुझाव छ।

‘मास्क खरिद गर्न नसक्ने गरिब जनतालाई सरकारले निःशुल्क वितरण गर्नुपर्छ’, स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘ठाउँ–ठाउँमा मास्क वितरणका लागि सामुदायिक पसल सञ्चालन गर्न सकिन्छ। मास्क किन्न सक्ने माग्न जाँदैन। किन्न नसक्ने गरिब छनोट गरी वितरण व्यवस्था गर्नु प्रभावकारी हुन्छ।’

विज्ञका अनुसार कोरोना भाइरस संक्रमण लामो अवधि जाने भएकाले स्थानीय तहमा लकडाउन वा निषेधाज्ञा दिगो समाधान होइन। सरकारले चार महिना लकडाउन र अहिले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरे पनि पूर्वाधार निर्माणमा ध्यान नदिएको विज्ञको ठम्याइ छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की कोरोना भाइरस र यसको संक्रमण र जोगिने उपायबारे सर्वसाधारणले छिटै र सजिलै बुझ्ने गरी पाठ्य, श्रव्य र दृश्य सामग्री उपयोग गर्न सकिने बताउँछन्। हातहातमा मोबाइल छ। विभिन्न भाषामा सबैले बुझ्ने गरी सन्देश प्रवाह गर्न सकिन्छ’, डा. कार्की भन्छन्। अन्नपूर्ण

Facebook Comments