विश्व स्वास्थ्य संगठन भन्छ – जाडो यामसँगै कोरोना संक्रमण तीव्र हुन सक्छ

कोपनहेगन । जाडो याममा कोरोना भाइरस संक्रमण अझ तीव्र हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ। डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक डा. हान्स क्लगले विशेषगरी साना उमेरका व्यक्तिमा संक्रमण बढ्न सक्ने बताएका हुन्।

निर्देशक डा. क्लगले युरोपमा जाडो यामसँगै कोरोनाबाट युवा जमात् बढी संक्रमित हुने सम्भावना रहेको बताएका हुन्। उनले युवाहरू जाडो याममा पाका मानिससँग नजिक सम्पर्क आउन सक्ने जसका कारण संक्रमणको स्थिति झन जटिल तथा भयावह हुन सक्ने बताएका छन्।

‘हामी अनावश्यक भविष्यवाणी गर्न त चाहँदैनौँ’, निर्देशक डा. क्लगले भने, ‘तर जाडो याममा पक्कै बढी मानिस अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने सम्भावना रहेको छ।’ उनले मृत्युदर वृद्ध उमेरमा बढी देखिएका युवालाई नआत्तिन तर सचेत रहन आग्रह गरेका छन्। ‘यसबाट वयस्क मानिसको ज्यान जाने अवस्था छ भन्ने चाहिँ होइन’, उनले भने, ‘तर यो टोर्नाडो जस्तै र बहु–अंग भएको रोग हो।’

जाडो याममा कोरोना संक्रमण वृद्धि किन हुन्छ ?

केही समयअघि विज्ञहरूले गरेको शोधअनुसार जाडो याममा कोरोना संक्रमण फैलिने जोखिम बढी हुने निष्कर्ष निकालेका छन्। सिड्नी स्कूल अफ भेटरीनरी साइन्सका प्राध्यापक माइकल वार्डले गरेको अध्ययनले जाडो याममा कोरोना संक्रमणको जोखिम बढी हुने देखाएको हो।

‘तापक्रम (आर्द्रता) कोभिड–१९ फैलिन एक प्रमुख कारक हो’, प्रध्यापक वार्डले भने। त्यसैले न्यून आर्द्रतामा कोरोना भाइरस फैलिने दर बढी हुने बताइएको छ। प्राध्यापक वार्डको उक्त शोध ‘ट्रान्स्बाउन्ड्री एन्ड इमर्जिङ डिजिज’ जर्नलमा प्रकाशित भएको थियो।

Facebook Comments