युनुसकाे जेलबाटै सुन तस्करीकाे यस्ताे खतरानाक डिजाइन

काठमाडौंको कमलादीमा बरामद भएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता खुलेको छ। भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका अन्सारीले सहयोगीमार्फत सुन तस्करी गरेको खुलेको हो।

काठमाडौंको सुन्धाराबाट मंगलबार बिहान नक्कली सुन बरामद गरेको प्रहरीले अन्सारीका सहयोगी इन्साद हुसेनको गाडी नख्खीपोटस्थित अन्सारीकै घरनजिकको एक घरमा पार्किङ गरिरहेको अवस्थामा फेला पारेको थियो। ‘प्रहरीले गाडी फेला पारेपछि गाडी नम्बर र गाडी धनी ट्रेसिङ गर्ने क्रममा हुसेनको भएको थाहा पायो। गाडी बरामद गरिएको स्थान पनि अन्सारीकै घरनजिक थियो’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘हामीले अन्सारीसँग यो विषयमा बुझिरहेका छौं।’ प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी बाराका हुसेनको भएको पाइएको थियो। त्यसपछि प्रहरीले अन्सारीसँगको कनेक्सन खोजी गरेको थियो।

प्रहरीले बारा स्थायी घर भए पनि वीरगन्ज बस्दै आएका हुसेनको खोजी गरिरहेको छ। प्रहरीलाई सुनको पोको भन्दै दिएर हिँडेका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेलले यो सबै काम हुसेनको भएकाले आफूहरुलाई अन्य जानकारी नभएको र गाडी अन्सारीकै घरनजिक भएको बताएपछि अनुसन्धानको सुई अन्सारीतर्फ मोडिएको थियो। हुसेनको गाडी पार्किङ गरेर नवलपरासी पुगेका देवानसिंहसमेतका तीनजनालाई पक्राउ गरी काठमाडौं ल्याएपछि अन्सारीको संलग्नता खुलेको प्रहरीले जनाएको हो।

दरबारमार्ग प्रहरी वृत्तमा कार्यरत ड्राइभर बहादुरसिंह कठायतलाई कौशल पटेल भन्ने व्यक्तिले सुन आउँदैछ भन्ने सूचना दिएका थिए। कठायतले सादा पोसाकमा काम गर्ने प्रहरी जवान प्रसन श्रेष्ठलाई दिएको सूचना डिएसपी रञ्जन दाहालसम्म पुगेको थियो। कठायतसँग सुराकी पटेलको लामो सम्बन्ध रहेको देखिएको छानबिन समितिले जनाएको छ। उनीहरुको लामो सम्बन्ध रहेका कारण १५ किलो सुन बरामद हुने अपेक्षासहित कमलादीमा चेकजाँचमा डिएसपी दाहाल आफैं बसेका थिए तर उनले गाडी समात्न सकेनन्। कमलादीबाट उम्केको गाडीको पिछा मोटरसाइकलमा गरिएको थियो। ड्राइभरले प्रहरीको मोटरसाइकलले आफूहरुलाई पिछा गरेको जानकारी गराएपछि हुसेनले नै सामान प्रहरीलाई नै दिएर भाग्न निर्देशन दिएको स्रोतको दाबी छ। तर त्यो गाडीमा हुसेन भने थिएनन्। उनी अर्कै गाडीमा बसेर निर्देशन दिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी बाराका हुसेनको भएको पाएपछि अन्सारीसँगको कनेक्सन खोजिएको थियो।

भारतीय नक्कली नोट कारोबारमा जेल सजाय काटेर निस्केका हुसेन भारतीय प्रहरीको पनि खोजी सूचीमा रहेका व्यक्ति हुन्। ‘अन्सारी र हुसेन साथी भएको, अहिले अन्सारी जेलमा रहेका कारण हुसेनले नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करी गरिरहेको देखिन्छ। प्रहरीलाई छल्न १४ किलो चाँदी देखाएर सुन भएको गाडी पास गराएको हो कि भन्नेतर्पm अनुसन्धान अघि बढेको छ’, छानबिन समितिका एक सदस्यले भने। उनका अनुसार डिएसपी दाहालको कमजोर कमान्डको फाइदा मातहतका प्रहरीले उठाएको र दाहालले पनि समयमै खबर नगरेको उनको भनाइ छ।

‘मंगलबार बिहान ८ बजे गाडी ट्रेसिङ भए पनि डिएसपी दाहालले सुनलगायतका सामान फालेर एउटा गाडी फरार भएको भन्दै ८ः२९ मा सेटमा खबर गरेको देखिन्छ’, स्रोतले भन्यो। त्यसबीचमा मोटरसाइलले पिछा गरेको गाडीलाई किन नियन्त्रणमा लिन सकिएन भन्ने प्रश्न पनि उठेको स्रोतले बतायो। त्यो गाडी त्रिपुरेश्वरमा दुईपटक घुमेर नख्खीपोट पुगेको स्रोतको भनाइ छ। ‘गाडीभित्रबाट कोही पनि बाहिर निस्केको देखिँदैन। गाडी मोटरसाइकलको पछाडि बस्नेलाई पोका फ्याँकेर भागेको देखिन्छ। त्यस्तो अवस्थामा गाडीसहित मानिस पक्राउ गर्ने अवस्था हुँदाहुँदै कसरी उनीहरु भाग्न सफल भए ? मोटरसाइकलमा गएका प्रहरीसँग उनीहरुको मिलेमतो थियो कि थिएन भनेर अहिले थप अनुसन्धान भइरहेको छ’, छानबिन समितिका एक सदस्यले भने। उनका अनुसार प्रहरी जवानद्वय कठायत र श्रेष्ठ पनि अनुसन्धानमा तानिएका छन्। नागरिक दैनिकबाट

Facebook Comments