प्रधानमन्त्री ओली पक्षधरको जुलुसमा प्रचण्ड पक्षधरको आक्रमण

काठमाडौं । सत्तारुढ नेकपाको शीर्षतहमा भएको विवादले जिल्लास्तरमा पनि नकारात्मक प्रभाव पर्न थालेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको दुई वर्षपार गर्दै गर्दा शीर्ष नेताहरुबीच विवाद बढेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा अर्का अध्यक्ष प्रचण्डसहितका नेताले मागेपछि अहिले नेकपाको विवाद बढिरहेको छ । कतै ओलीको समर्थनमा त कतै ओलीको विरोधमा कार्यक्रम भइरहेको छ । यस्तै कार्यक्रम सप्तरीमा पनि भएको छ । बुधबार सप्तरीमा ओलीको समर्थनमा गरेको प्रदर्शनमा पूर्वमाओवादी पक्षले अवरोध गरेको आरोप लगाइएको छ ।

पूर्वएमाले पक्षधर नेताहरुले शिव मन्दिर प्राङ्गणबाट ओलीको समर्थनमा प्रदर्शन गर्ने तयारी गरेपछि उमेश यादवसहित पूर्वमाओवादी पक्षका नेता कार्यकर्ताहरुले अवरोध गरेका हुन् । दुई समूहको विवादले सो क्षेत्र केहीबेर तनाव पूर्ण बनेको थियो ।

त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई गुटबीच कैलालीको लम्कीमा झडप भएको भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सोमबार दिउँसो निकालिएको स्वतन्त्र नागरिकको जुलुसमाथि अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालका पक्षधरले आक्रमण गरेको बताएको छ।

कैलालीको लम्की क्षेत्र प्रतिनिधि सभाका सांसद झपड रावलको निर्वाचन क्षेत्र भएको र सांसद रावल नेकपाका वरिष्ठ नेता नेपाल पक्षधर भएका कारण प्रधानमन्त्रीको समर्थनमा निकालिएको जुलुस माथि हमला गरेको स्थानीय एक विद्यार्थी नेताले बताए।

Facebook Comments