काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा जागिर लगाइदिने भन्दै लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले पूर्वी नवलपरासी सुस्ता देवचुली नगरपालिका–१५, प्रगतिनगर घर भई हाल काठमाडौंको तीनकुने बस्दै आएका ३४ वर्षीय विजय पाण्डेलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । पाण्डेले चितवनकी अस्मिता अधिकारीलाई आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी भएको र संगठनमा कर्मचारीको माग भएको भन्दै एक लाख ८२ हजार रुपैयाँ ठगेको खुलेको छ ।
प्रहरीका अनुसार उनले विश्वासमा पार्न अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कागजातहरूसमेत दिएका थिए । अनुसन्धानकै क्रममा पाण्डेले शंखमूलमा रहेको एक फर्निचर पसलबाट १८ लाखको फर्निचर लैजाने भन्दै उल्टै ५० हजार लिएर ठगेको खुलेको छ ।
चितवनका निशानबाबु घिमिरेलाई समेत विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाई दिने विश्वास दिलाएर तीन लाख ५० हजार रुपैयाँ ठगेको खुलेको प्रहरीले जनाएको छ । त्यस्तै अछामकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेको पनि अुनसन्धानका क्रममा खुलेको महाशाखाले जानकारी दिएको छ ।
यस्तै नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङ घर भएका काशी गुरुङ, ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका व्यक्तिहरूलाई समेत डब्लूएचओमा जागिर लगाइदिने भन्दै रकम ठगी गरेको पाइएको महाशाखाले जनाएको छ ।
Facebook Comments