काठमाडौं । ६ महिनासम्म बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमणका कारण बन्द नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।
दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी व्यापार सुरु भएको खड्काले बताए । नेपालबाट हुने निकासी र मानवीय ओहोरदोहोर भने कोरोना संक्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको छ ।
सोमबार चीनतर्फ लामो समयदेखि रोकिएको रेडिमेट गार्मेन्टहरू नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख खड्काले जानकारी दिए ।
चिनियाँ पक्षको अवरोधका बाबजुद एकतर्फी मात्र नाका खोल्ने सहमति भएसँगै सोमबारदेखि रसुवागढी नाका संचालनमा आएको हाे ।
खड्काका अनुसार नेपाली र चिनियाँ पक्षबीच भएको पछिल्लो समझदारी अनुसार नेपालले माल सामान आयात गर्दा नेपालीहरु बोर्डरसम्म मात्र जान पाउँछन् । उता बोडर पारीसम्म चिनियाँ पक्षले नै सामान ल्याइदिने र यताबाट गएका कन्टेनरहरुले बोर्डरमा गएर लोड गरेर फर्किनुपर्ने सर्त राखिएको छ ।
त्यसमा पनि कन्टेनर लोड अनलोड तथा कामदारको व्यवस्था समेत चिनियाँ पक्षले नै गर्ने सहमति भएको खड्काको भनाइ छ ।
नेपाली र चिनियाँ पक्षबीच यस खालको सहमति भएसँगै आजै ४ वटा कन्टेनर लोड भइ नेपाल प्रवेश गरेको छ । तर यस अघि नेपाली कन्टेनरहरु चिनियाँ बोडर पारी झण्डै २४ किलोमिटर पर केरुङसम्म जान पाउथे ।
गत माग १५ गतेदेखि बन्द रहेको रसुवागढी नाका यसअघिसम्म स्वास्थ्य सुरक्षाका कारण देखाउँदै चिनियाँ पक्षले बन्द गर्दै आएको थियो । नेपाली पक्षबाट नाका खुलाउन बारम्बार प्रयास भएपनि चिनियाँ पक्ष राजी नहुँदा आजसम्म खुल्न सकेको थिएन । तर पछिल्लो पटक जेठ १३, २२ र २८ गतेको पत्र पश्चात पछि मात्र चिनियाँ पक्ष वार्तामा वस्न राजी भएको थियो । दुई पक्षको बार्ता पछि असार १० गतेदेखि नाका खोल्ने सहमती भएको थियो ।
Facebook Comments