काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरूको घर भत्किन्छ त्यसपछि आफ्नो घर बन्छ भन्ने सोच्न नहुने बताएका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रका विवादतर्फ लक्षित गर्दै उनले कांग्रेसलाई अहिलेको अवस्थाबाट सुधार गरी मुलुकका समस्या समाधान गर्न सक्ने पार्टीका रूपमा अगाडि लैजानुपर्ने बताए।
‘कांग्रेसले सत्ता प्राप्तिको राजनीति छाडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ,’ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार बागमती प्रदेशका नेता/कार्यकर्तासँग गरेको अन्तरक्रियामा पौडेलले भने, ‘अरूको घर भत्किन्छ त्यसपछि आफ्नो घर बन्छ भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुन्छ।’
फागुनमा हुने पार्टीको १४ औं अधिवेशनबाट मुलुकलाई भिजन दिन सक्ने नेतृत्व आउने पनि पौडेलको भनाइ छ। देश बनाउने मिसनका लागि भिजन भएको पार्टी नेतृत्व आवश्यक रहेको उनले बताए।
उनले कम्युनिष्टहरूले समस्या ल्याउने तर समाधान दिन नसक्ने बताए। ‘कम्युनिष्टहरू हल्ला मच्चाउँछन् तर समाधान दिन सक्दैनन्,’ उनले प्रश्न गरे, ‘मुलुकमा संकट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु कम्युनिष्टहरूको वैज्ञानिक समाजवाद हो?’
Facebook Comments