बलात्कारको झूटो जाहेरी दिने युवतीलाई जेल

काठमाडौँ — आफूमाथि बलात्कारको प्रयास भएको भनी झूटो जाहेरी दिने एक किशोरीलाई जिल्ला अदालत चितवनले एक महिना कैद र पीडितलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

झूटो जाहेरी दिएकी ती युवतीले अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा जाहेरीमा भएको व्यहोरा सही नभएको भन्दै आफूमाथि बलात्कारको प्रयास नभएको भनी बयान फेरेकी थिइन् ।

जाहेरीकर्ताको यस्तो व्यवहारले फौजदारी न्याय प्रणालीको दुरुपयोग भएको, अनुसन्धान र अभियोजनका क्रममा राज्यको स्रोतसाधन दुरुपयोग भएको भन्दै न्यायाधीश हेमन्त रावलको इजलासले ती किशोरीलाई एक महिना कैद गर्न फैसला गरेको हो ।

झूटो अभियोजनका कारण पीडित व्यक्तिले अनाहकमा थुनामा बस्नुपरेको भन्दै प्रतिदिन तीन सय रुपैयाँका दरले २ सय १० दिनको ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो । त्यसलाई चितवन जिल्ला अदालतले यो फैसलालाई ‘प्रतिकात्मक’ भनेको छ । असार ७ गतेको फैसलाको पूर्णपाठ दुई दिनअघि तयार भएको हो ।

Facebook Comments