काठमाडौं । भारतले कुनै न कुनै रुपमा चीनसँग जोडिएका ५९ वटा एपमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको छ । भारतले टिकटक, हेलो, विच्याट, पब्जीलगायत ५९ वटा चिनियाँ एपहरुमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको हो ।
भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेका थिए । भारतीय सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई सोमबार नै फोन कम्पनीहरुलाई फोन गरेर यी एप प्रतिबन्ध लगाउन आदेश दिएको हो ।
चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि भारत र चीन सम्बन्धमा तीक्तता आइरहेको छ । मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस चलिरहेको थियो ।
चिनियाँ टेलिकम्युनिकेसन तथा सामाजिक सञ्जाल कम्पनीले आफ्ना उत्पादनका लागि भारतको विशाल बजार र त्यसको सम्भावनामा चासो देखाउँदै आएका छन् । भारतको ५० प्रतिशत जनसंख्या इन्टरनेटमा पहुँचमा रहेको छ।
दि न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। यी एपहरू भारतीय मोबाइल प्रयोगकर्तामाझ एकदमै लोकप्रिय रहँदै आएका छन् ।
विज्ञहरूले विश्वका कुल टिकटक प्रयोगकर्तामध्ये झण्डै एक तिहाई प्रयोगकर्ता भारतबाट रहेको बताएका छन् ।
चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गर्दै भारतको विद्युतिय र सञ्चारप्रविधि मन्त्रालयले सोमबार जारी गरेको एक विज्ञप्तिमा यी चिनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृतरूपमा भारतबाहिरका सर्भरहरूमा गोप्यरूपले हस्तानतरण हुँदै आएको पाइएको जनाएको छ ।
“यी तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ता विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको छ”, सो विज्ञप्तिमा भनिएको छ ।
चीनले भने भारतको यस कदमका बारेमा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन ।
Facebook Comments