काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउनका लागि भारतीय राज्यसंयन्त्र नै सक्रिय भएर लागेको दावी गरेका छन् । ओलीले आफूलाई पदबाट हटाउन ‘एम्बेसी’ र होटेलहरूमा चलखेल भइरहेको भन्दै औपचारिक अभिव्यक्ति दिएका छन् । नेपालको इतिहासमा बहालवाला प्रधानमन्त्रीले छिमेकी दूतावासले आफूलाई हटाउन प्रयास गरेको अभिव्यक्ति दिएको यो पहिलोपटक हो ।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको दावी गरेका हुन् ।
‘अहिलेको अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन, पहिला चीनतिरको ट्रान्सपोर्ट ट्रान्जिट सम्झौता गरेर फर्केपछि सरकार ढलेको थियो । अहिले यस्तो अपराध गर्नेलाई चाहिँ… भनेर भनिएको छ । बाहिर नभन्ने, तर भित्र–भित्र यहाँका होटलहरूमा भइरहेका गतिविधि, एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
बहालवाला सरकार प्रमुखबाट छिमेकी देशको दूतावास आफूविरुद्ध परिचालन भएको अभिव्यक्ति आउनु नेपालको इतिहासमा मात्र होइन, विश्वकै इतिहासमा दुर्लभ मानिन्छ । अनौपचारिक रूपमा नेपालको सरकार ढाल्न भारतले प्रयास गरिरहेको चर्चा चल्ने गरेको भएपनि बालुवाटारमै तामझामका साथ आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्रीले नितान्त गैर-कूटनीतिक अभिव्यक्ति दिएका हुन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी नेकपाको पाचौं स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिने प्रस्ट बुझेपछि ओलीले पुनः एकपटक ‘राष्ट्रवाद’को तुरूप फ्याँकेका हुन सक्छन् । उनले आफ्नो राजीनामा माग्नेहरू भारतको गोटी भएको आशय झल्किने गरेर यस्तो अभिव्यक्ति दिएको नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् ।
‘प्रधानमन्त्रीको यो भनाइबाट सत्तामा बसिरहन राष्ट्रवादको दुरुपयोग गरिएको छ भन्ने प्रस्ट भएको छ,’ उनले भने, ‘यदि प्रधानमन्त्रीले भनेको साँचो हो भने यसरी चलखेल भइरहेको छ भने जनतालाई स्पष्ट बताउनुपर्छ । स्थायी कमिटी बैठकमा उहाँले बोलेका कुराको आधार माग गर्छौं हामीले ।’
यतिबेला नेकपाले प्रस्ट बहुमतका साथ सरकार चलाइरहेको छ । पार्टीभित्र गम्भीर खालको दुर्घटना नभए प्रधानमन्त्री ओलीले ५ वर्ष नै सरकार प्रमुख भएर देश चलाएर इतिहास निर्माण गर्न सक्छन् । नेकपाको जारी स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक समस्या हल गर्नेछ भनेर धेरै नेता कार्यकर्ताहरूले अपेक्षा गरेर बसेका छन् ।
तर प्रधानमन्त्रीले ‘एम्बेसी’ कार्ड फ्याँकेर जारी बहसलाई अन्यत्र मोड्न प्रयास गरे । संविधानसभा कालमा तत्कालीन व्यवस्थापिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिका सभापति पदमलाल विश्वकर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको टिप्पणी गरे । उनले पार्टीमा उठेका कुराहरूलाई सामसुम पार्न ओली यसरी बोलेको हुनसक्ने बताए ।
‘पार्टीभित्र चलेको बहसलाई अन्तै मोड्न यस्तो भनेको पनि हुन सक्छ,’ उनले भने, ‘तर छिमेकी देशसँग असहमति र अप्ठ्याराहरूलाई वार्ताबाट हल खोज्नुपर्ने बेलामा आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाउनु राम्रो होइन । अहिले कुनै पनि हिसाबले सरकार ढल्ने अवस्थामा छैन ।’
उनले पनि बहालवाला प्रधानमन्त्रीले यसरी छिमेकी देशलाई आफ्नो सरकार ढाल्न खोजेको आरोप औपचारिक रूपमै लगाएको यसअघि आफूले नजानेको जिकिर गरे ।
कूटनीतिक मामिलाका जानकार डा. जयराज आचार्यले बहालवाला प्रधानमन्त्रीले छिमेकी देशको दूतावासलाई आफ्नो सरकार ढाल्न चहल-पहल गरिरहेको भन्ने अभिव्यक्ति आजसम्म कहिल्यै नसुनेको बताए ।
Facebook Comments