महोत्तरीमा १८ लाख रुपैयाँ बरामद, तीन जना पक्राउ

महोत्तरी । महोत्तरीमा १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले १८ लाख नगदसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।

जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार रहेका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय रोहितकुमार साहलाई ९ लाख रुपैयाँ, सो मोटरसाइकलको पछाडि सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार रुपैयाँ र प्र २–०३–००३ प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय सञ्जयकुमार साहलाई ३ लाख ५० हजार रुपैयाँ गरी कूल १८ लाख रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रवक्ता मिश्रले बताए ।

पक्राउ परेका तीनै जनालाई नगद र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।