कोरोनाविरुद्ध नयाँ खोपको मानव परीक्षण सुरु

एजेन्सी। कोरोना भाइरसविरुद्ध यूकेमा विकास गरिएको एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ । परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि भनेर हेर्न खोजिएको हो ।

परीक्षणका लागि आगामी साताहरूमा झन्डै ३०० मानिसलाई त्यो खोप लगाइनेछ। इम्पीरीअल कलेज लन्डनमा सुरु गरिएको परीक्षणको नेतृत्व प्राध्यापक रोबिन शाटोक र उनका सहकर्मीहरूले गरेका छन् ।

जनावरहरूमा गरिएको परीक्षणले उक्त खोप सुरक्षित भएको र प्रतिरक्षा प्रणालीलाई सबल बनाउन प्रभावकारी देखिएको छ। अक्स्फर्ड विश्वविद्यालयका विशेषज्ञहरूले पनि यसअघि नै यस्तै किसिमको खोपको मानव परीक्षण सुरु गरिसकेका छन् । अहिले विश्वभरि झन्डै १२० वटा खोप विकास कार्यक्रमहरू चलिरहेका छन्।

सहभागीको प्रतिक्रिया

वित्तीय क्षेत्रमा काम गर्ने ३९ वर्षीया क्याथी यो परीक्षणमा सहभागी हुने पहिलो मध्येकी एक स्वयंसेवक हुन्। उनले कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी हुन आफू उक्त परीक्षणमा सहभागी भएको बताइन् । उनले भनिन्, ‘मैले के सहयोग गर्न सक्छु भन्ने वास्तवमा थाहा नपाईकनै यो आयो र मलाई मैले यही सहयोग गर्न सक्छु भन्ने लाग्यो।’ ‘खोप नबनीकन हामी सामान्य जीवनमा फर्किन सक्दैनौँ भन्ने थाहा भएर पनि म यसको हिस्सा बन्न चाहन्छु।’

पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गर्ने योजना छ। त्यसमा ६,००० मानिसहरू सहभागी हुनेछन् ।

इम्पीरीअल कलेजको समूहले उक्त खोप सन् २०२१ को आरम्भमा यूके र विदेशमा वितरण सुरु हुने अपेक्षा गरेको छ । यसैबीच ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमले चर्चिल अस्पतालमा अक्स्फर्ड विश्वविद्यालयको परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई भेटेका छन्।

राजकुमारले स्वयंसेवकहरूको प्रशंसा गर्दै उनीहरूले गरिरहेको काम अत्यन्त रोमाञ्चक र स्वागतयोग्य भएको बताए। धेरै खोपहरू भाइरसलाई परिमार्जित गरेर वा त्यसलाई निस्तेज पारेर वा त्यसको अंश प्रयोग गरेर बनाइएका छन् । तर इम्पीरीअल कलेजले बनाएको खोप भने भिन्न छ।

यसमा कोरोना भाइरसको नक्कल गर्ने कृत्रिम आरएनए अर्थात् आनुवंशिक संरचना प्रयोग गरिएको छ।एक पटक मांसपेशीमा लगाएपछि आरएनएका प्रतिलिपिहरू आफैँ बन्न थाल्छन् र शरीरका कोषिकालाई तिनले भाइरसको सतहमा हुने स्पाईक प्रोटीन बनाउन निर्देशित गर्छन् । यसबाट प्रतिरक्षा प्रणालीले कोभिड-१९ वा सङ्क्रमण नभईकनै कोरोना भाइरसलाई चिन्न र परास्त गर्न सिकाउँछ । बीबीसी

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.