चीनसँग आक्रोशित ट्रम्पले दिए भारतलाई साथ

एजेन्सी । कोरोना भाइरसको महामारी फैलाएको भन्दै चीनसँग आक्रोशित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू भारतको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्रम्पले भारत र चीनबिच सीमालाई लिएर पछिल्लो समय भइरहेको तनावमा आफूले ध्यान दिइरहेको उल्लेख गरेका छन् । भारत र चीन दुवैसँग यो विषयलाई लिएर अमेरिकाले कुराकानी गरिरहेको र समस्या समाधानमा केन्द्रित भएको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले भने, “अहिलेको अवस्था अति कठीन छ । हामीले भारतसँग कुरा गरिरहेका छौँ । चीनसँग पनि कुरा भइरहेको छ । यी दुई देशबिच हाल ठूलो समस्या छ । दुवै देश आमनेसामने भएका छन् । अगाडि के हुन्छ त्यसमा हाम्रो नजर छ । हामीले अहिलेको परिस्थितिमा सहयोग गर्ने प्रयास गरिरहेका छौँ ।”

१५-१६ जूनमा पूर्वी लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च कमाण्डरसहित २० सैनिकको मृत्यु भएको थियो । चीनले पनि लज्जाबोध हुने भन्दै आफ्नोतर्फका क्षति भएका सेनाको विवरण सार्वजनिक गरेको छैन ।

ट्रम्पले गएको महिना ट्विट गरेर भारत र चीनबिचको वार्ताका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए ।

Facebook Comments