नेकपा र सीसीपीबीचको भिडियो कन्फ्रेन्सप्रति काँग्रेसकाे आपत्ति

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी) बीचको भिडियो कन्फ्रेन्स भएको विषयप्रति आपत्ति जनाएकाे छन। काँग्रेसका युवा नेता रामहरि खतिवडाले उक्त भिडियो कन्फ्रेन्स भएको विषयप्रति आपत्ति जनाएका हुन्।

उनले कम्युनिस्टहरूबाट राष्ट्रियता र लोकतन्त्रमाथि नै खतरा बढेको टिप्पणी गरेका हुन्। नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्स मार्फत ‘पार्टी र देशलाई परचालन गर्ने अनुभव आदान–प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच गोष्ठि उद्घाटन समारोह’को आलोचना गरेका हुन्।

खतिवडाले यस्ता गतिविधी गरेर नेकपाले मुलुकमा चिनियाँ हस्तक्षेप बढाएको आरोप लगाए । उनले नेकपाले संविधानको प्रस्तावना र जनताले लेखेको संविधानको भावना विपरित चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिहरूमा संलग्न भएको बताए । खतिवडाले कम्युनिस्टहरूको गलत नीतिका कारण बिगतमा प्रजातन्त्र नै खतरामा परेको भन्दै कम्युनिस्टहरू राष्ट्रवादी हुन सक्दैनन् भन्ने उनीहरूका गतिविधिबाट पुष्टि हुँदै आएको बताए ।

‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता छ, प्रेस स्वतन्त्रता छ, आवधिक निर्वाचन हुन्छ, बहुदलीय प्रतिस्पधा छ’, खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘चीनमा तानाशाही निरंकुशत शासन व्यवस्था छ । त्यो व्यवस्था नेकपामार्फत चीनले लागू गर्न खोज्नु अत्यन्तै आपत्तिजनक र संविधान विपरित छ ।’ कांग्रेसका युवा नेता खतिवडाले नेकपालाई जनताले विश्वास गरेर झण्डै दुईतिहाइको बहुमत दिएको कुरालाई नेकपाले गलत रुपमा प्रयोग गरिरहेको बताए । उनले नेकपाका नेताहरूलाई सुध्रिन चेतावनी दिएका छन् ।

Facebook Comments