ट्विटरपछि फेसबुकले पनि ट्रम्पको चुनावी अभियानाकाे यस्ता सामग्री हटायाे

काठमाडौँ । ट्विटरपछि फेसबुकले पनि सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानाकाे सामग्री हटाएकाे छ। अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै ट्रम्पको चुनावी अभियानको विज्ञापनलाई हटाइदिएको छ । फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको चिह्न छ । जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्दै आएको थियो ।

ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको छ । उक्त समूहले त्यो चिन्ह प्रयोग गर्ने गरेको उनीहरूले दाबी गरेका छन् । फेसबुकले भने त्यो विज्ञापनले आफ्नो नीतिको उल्लंघन गरेको बताएको छ । उक्त विज्ञापन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका नाममा खोलिएका फेसबुक पेजहरूमा प्रकाशन गरिएको थियो ।

करिब २४ घण्टासम्म रहेका ती विज्ञापन फेसबुकले हटाउनु पहिले लाखौँले हेरेका थिए । ‘फेसबुकले अझै पनि इमोजीका रूपमा उल्टो रातो त्रिकोण प्रयोगमा राखेको छ । त्यो हामीले प्रयोग गरेको चिन्ह जस्तै छ,’ ट्रम्पको चुनावी अभियानका प्रवक्ताले भने ।

एक अमेरिकी नागरिक जोर्ज फ्लोइडको मृत्युपछि भएका देशव्यापी प्रदर्शनहरू एन्टिफाले सुरु गरेको हालसालै मात्रै ट्रम्पले आरोप लगाएका थिए । उनले त्यो समूहलाई आन्तरिक आतंकवादी संगठन समेत भनेका छन् । तर कानुनका ज्ञाताहरूले भने त्यस्तो भन्ने उनलाई चुनौती दिएका छन् ।

एन्टिफाले जातीय विभेद लगायतका विषयमा आवाज उठाउँदै आएको छ । उक्त समूहको निश्चित नेता नरहेको बताइएको छ । एजेन्सी

Facebook Comments