राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन् ।

यो सँगै संविधान संशोधन प्रक्रियाले पूर्णता पाएको छ र लिम्पियाधुरा लगायतका नेपाली भूभाग अब नेपालको निशानाछापमा समावेश हुनेछ

विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए । राष्ट्रपति कार्यालयले विहीबार नै विधेयक प्रमाणीकरण गरेको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको एक विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् ।

‘आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ प्रवक्त दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्सामा नसमेटिएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिने भएको छ ।

नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो।

त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.